
थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका कलाकार पुष्कर भट्ट केही वर्षदेखि क्यानडामा छन् । सयभन्दा बढी चलचित्रमा खलपात्रको भूमिकामा देखिएका उनले भागी भागी नजाऊ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली लगायतका चलचित्रमा अभिनय गरेका छन् ।
उनले दर्जन बढी भोजपुरी चलचित्रमा पनि अभिनय गरेका छन् । क्यानडामा बसेर पनि आफूले कलाकारितालाई नछाडेको पुष्करले बताए । यसैबीच उनले एक हिन्दी गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् ।
उनी निर्देशित ‘जिल्ला मुरादाबाद’ गीतको म्युजिक भिडियो अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको छ ।गायक प्रिन्स आनन्दको स्वर तथा शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् ।
भिडियोमा पुष्कर खलपात्रकै भूमिकामा देखिएका छन् । यो भिडियोमा उनले राजनीतिक दाउपेचको कथा उठाएका छन् । भिडियोमा उनीसँगै भारतीय मूलका कलाकार सुखविन्दर सिंह जसल, जगदीप बाबा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको अभिनय छ ।
गीतलाई दर्शकले रुचाएपनि पुष्कर र उनको टिमले भिडियोमा उठान गरेको कथामाथि वेब सिरिज समेत निर्माण गरेको छ ।अमेजन प्राइममा रिलिज गर्ने उद्देश्यसहित निर्माण गरिएको सिरिजको निर्देशन पुष्करले नै गरेका हुन् ।
५ भागको यो वेब सिरिजमा पुष्कर आफैं भिलेनको भूमिकामा देखिएका छन् । वेब सिरिजको छायांकन सकेर सम्पादन भइरहेको पुष्करले जानकारी दिए । उनले अमेजनले रुचाएको खण्डमा अन्य भाग पनि निर्माण गरिने बताए । वेब सिरिजमा गायक प्रिन्स आनन्द नै मुख्य भूमिकामा छन् ।


