सिद्धार्थले मागे माफी, साइनाले भनिन्– आइन्दा महिलामाथि ‘टार्गेट’ नहोस् - Crazysaptahik.com

सिद्धार्थले मागे माफी, साइनाले भनिन्– आइन्दा महिलामाथि ‘टार्गेट’ नहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको गल्तीको विषयलाई लिएर ब्याडमिन्टन खेलाडी साइना नेहवालमाथि बलिउड अभिनेता सिद्धार्थले गरेको कमेन्टबाट शुरु भएको विवाद सुल्झिने दिशामा गएको छ । यस विषयमा सिद्धार्थले माफी मागेका छन् भने साइनाले सिद्धार्थले माफी मागेकोमा खुशी व्यक्त गरेकी छन् ।

साइनाले समाचार एजेन्सी एएनआईसँग भनेकी छन्, ‘पहिले उनले मेरो बारेमा केही बताए, अहिले फेरि माफी मागेका छन् । मलाई थाहा थिएन कि यो विषय यति भाइरल हुन्छ भनेर । ट्वीटरमा ट्रेण्डिङ हुँदा म आफैं हैरान भएकी थिएँ ।’

साइनाले अगाडि भनेकी छन्, ‘तपाईंले कोही पनि महिलालाई टार्गेट गर्नुहुँदैन । मलाई त केही फरक पर्दैन, तर अरुलाई ? ईश्वरले उनको मद्दत गरुन् ।’ यो विवादको शुरुआत प्रधानमन्त्री मोदी पञ्जाब भ्रमणमा गएका बेला भएको सुरक्षा लापरवाहीका विषयमा साइनाले गरेको चिन्ताबाट शुरु भएको थियो ।

त्यसबेला प्रधानमन्त्री मोदीको गाडी किसान आन्दोलनका कारण १५ मिनेटसम्म सडकमा रोकिएको थियो । साइनाले त्यसबेला ट्वीट गरेकी थिइन्, ‘विश्वको कुनै पनि देश पूर्ण सुरक्षित रहेको दाबी गर्न सक्दैन, जब आफ्नै प्रधानमन्त्रीको सुरक्षामा लापरवाही हुन्छ । अराजकतावादीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको निशानाका विषयमा कडा शब्दमा निन्दा गर्दछु ।’

यो ट्वीटमा अभिनेता सिद्धार्थले जब रियाक्ट गरे, तब सामाजिक सञ्जालमा बबाल मच्चियो । महिला आयोगले सिद्धार्थ विरुद्ध मुद्दा दर्ता गर्ने आदेश समेत दियो । स्मरण रहोस्, साइना सन् २०२० जनवरीमा भारतीय जनता पार्टीमा औपचारिक रुपमा प्रवेश गरिसकेकी छन् ।

साइनाको उक्त ट्वीटलाई रिट्वीट गर्दै अभिनेता सिद्धार्थले लेखे, ‘सटल कक च्याम्पियन अफ द वर्ल्ड‘ खुशी छौं कि हाम्रो साथमा भारतका संरक्षक छन्, हात जोडेर प्रार्थना । रिहानालाई पनि अब लाज लाग्नेछ ।’ अंग्रेजी शब्द ‘सटल’ र ‘कक’ले दोहोरो अर्थ दिने र महिलालाई होच्याएको भन्दै केही ट्वीटर प्रयोगकर्ताले सिद्धार्थको ट्वीटमाथि आपत्ति जनाए ।

यसका साथै सिद्धार्थको ट्वीटमा अमेरिकी गायिका रिहानालाई पनि जोडेको उनीहरु थप आक्रोशित भए । गत वर्षको फ्रेब्रुअरीमा गायिका रिहानाले भारतको किसान आन्दोलनलाई समर्थन गर्दै एक ट्वीट गरेकी थिइन् ।

जसलाई लिएर भारतीय सेलिब्रेटीहरु विभाजित भएका थिए । कसैले यो आन्तरिक मामलामा रिहानालाई बोल्ने अधिकार छैन भनेका थिए भने कसैले किसानहरुको जायज आन्दोलनलाई लिएर एक अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएकी गायिकाले बोल्दा राम्रै हुने बताएका थिए ।

तर, सिद्धार्थले रिहानाले किसान आन्दोलनका बेला गरेको समर्थनलाई समेत जोडेर ट्वीट गरेकोमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्मालाई पनि मन परेन र उनले सिद्धार्थमाथि मुद्दा दर्ता गराउने आदेश दिइन् । विवादले उग्र रुप लिएपछि सिद्धार्थले आफ्ले भनाइ राखेका छन् । उनले आफ्नो ट्वीटको अर्थ त्यो नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘कक एण्ड बुलको अर्थ मनगढन्ते कहानी हो । यसको सन्दर्भ पनि यही हो, कसैले यसलाई पढेर भ्रामक रुपमा प्रचार गर्छ भने यो शब्दकै अनादर हुन्छ । मैले त्यस्तो भावनाले भनेको थिइनँ, विराम ।’ सिद्धार्थले अन्तिममा ‘विराम’ भन्दै अब यो विषयलाई यहीं टुंग्याउन आग्रह गरेका छन् र आफ्नो भनाइले कसैलाई ठेस पुगेकोमा माफी समेत मागेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.