
गायनमार्फत स्रोता–दर्शकको मन जितेकी पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी पछिल्ला केही दिनयता फेसबुक स्टाटसका कारण पनि चर्चामा आउन थालेकी छन् । तीन दिनअघि उनले नारीलाई कमजोर नठान्न आग्रह गर्दै स्टाटस कोरेकी थिइन् । त्यसपछि ‘विस्तारै खुल्छ मुकुण्डो’ भन्दै अर्को स्टाटस कोरिन् ।
समीक्षाले बिहीबार फेसबुकमा अर्को स्टाटस पोस्ट गरेकी छिन् । जहाँ उनले अभिनेता पल शाहसँगको सम्बन्धबारे यथार्थ खुलाउने उल्लेख गरेको स्पष्ट हुन्छ । समीक्षाको नाम केही महिनायता पलसँग जोडिँदै आएको छ । यसअघि पलसँग जोडिएर गसिपहरु आउन थालेपछि उनले फेसबुकमा स्टाटस लेख्दै आफू र पलबीच प्रेम सम्बन्ध नरहेको बताएकी थिइन् ।

पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको भन्दै आफू पलको फ्यान मात्र भएको उनले बताएकी थिइन् ।तर, बिहीबार समीक्षाले सोही समयको स्टाटसको स्क्रिनसट पोष्ट गर्दै लेखेकी छन् ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ ।जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’ समीक्षाको यो स्टाटससँगै पल शाहसँग जोडिएर आएका कुराहरु हल्ला नभएको संकेत देखिन्छ ।


