म्युजिक भिडियोमा जमिरहेकी विना - Crazysaptahik.com

म्युजिक भिडियोमा जमिरहेकी विना

विना राउतले दुई वर्षअघि ‘तोरी तेल लाएर कपाल कालो भो’ गीतको म्युजिक भिडियोमा काम गरेर मोडलिङ करिअर सुरु गरेकी थिइन् । टंक बुढाथोकी र बुनु उप्रेतीको स्वर रहेको गीतको भिडियोमा उनी सुनिल क्षेत्रीसँग प्रस्तुत भएकी छन् । उक्त गीतको भिडियोलाई दर्शकहरुले रुचाए ।

त्यसयता उनले १३० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । ‘रातो गुलाब’, ‘मेरो माया बसेको गाउँमा’, ‘मोहनी मन्तर’, चाइनिज पिलेट’, ‘पोखरेली नानी’ ‘कोकाकोला फिगर’, ‘सुटुक्कै’ उनले अभिनय गरेका केही म्युजिक भिडियो हुन् ।

म्युजिक भिडियोमा छोटो समयमै उनले पाएको सफलता लोभलाग्दो छ । उनी स्वयं पनि छोटो समयमै आफूले यति माया पाउँछु भनेर नसोचेको बताउँछिन् । ‘करिअर शुरु गर्दा यति मन पराउनुहुन्छ भन्ने सोचेको थिइन ।

तर मेहनत गर्नुपर्छ आफू सफलतामा पुगिन्छ भन्ने कुरा भने सुरुबाटै लाग्थ्यो,’ उनले भनिन् ‘एकदमै खुसी लाग्छ । दर्शकहरुबाट यति धेरै माया पाएकी छु ।’ टिकटकमा राम्रो फ्यान फलोअर्स कमाएकी उनलाई धेरैले टिकटकबाट उदाएकी मोडल भनेर समेत चिन्ने गरेका छन् ।

मोडल सरोज राना प्रजासँग उनले बनाउने भिडियो टिकटकमा निकै भाइरल भएको थियो । यस प्रसंगमा उनले भनिन्, ‘पहिलो भिडियो टिकटकमा फ्लोअर्स बढ्नुअघि, भिडियो भाइरल हुनुअघि खेलेकी हुँ । बीचको लकडाउनको समयमा हाम्रो भिडियो भाइरल भएर धेरैले टिकटकबाट चिन्नुभएको हो ।

सोही कारण पनि धेरैले मलाई टिकटकबाट आएको भन्नुहुन्छ ।’ भिडियोमा अधिकांश अभिनेता तथा मोडलसँग सहकार्य गरिसकेकी उनी सबैभन्दा बढी भने सरोजसँगै देखिँदै आएकी छन् । म्युजिक भिडियोमा सफलता पाइरहेकी विनाले बिहीबार आफ्नो २३ औं जन्मदिन मनाइरहेकी छन् ।

आउँदा दिनमा पनि सकेसम्म मेहनत गर्दै दर्शक–श्रोताले रुचाउने भिडियो दिने प्रयास रहने उनले बताइन् । चलचित्रमा अभिनय गर्ने सोच भएपनि तत्काल त्यसका लागि तयार नरहेको उनले बताइन् । ‘चलचित्रमा काम गर्ने सोच छ । तर त्यसका लागि आवश्यक धेरै कुरा सिकेपछि मात्र,’ उनले भनिन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.