
अभिनेता सलोन बस्नेतले बाल्यकालमा केही नेपाली चलचित्रमा काम गरेपनि अर्का अभिनेता अनमोल केसी भने पर्दामा देखिएका थिएनन् । अनमोलले चलचित्र ‘साथी म तिम्रो’को एक गीतमा अभिनय गरेका थिए । दुवै कलाकार फिल्मी पृष्ठभूमिबाट हुर्किएकाले पनि उनीहरुलाई चलचित्र क्षेत्रको मोह भने थियो ।
अनमोल अभिनेता भुवन केसीका छोरा हुन् भने सलोन निर्देशक शोभित बस्नेतका छोरा हुन् । अनमोल र सलोनले एकैसाथ चलचित्र ‘होस्टेल’बाट रंगीन दुनियाँमा पाइला राखे । यसपछि यी दुईको जोडी चलचित्रमा निरन्तर देखिएको छ ।
चलचित्र ‘गाजलु’, ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’मा पनि सलोन र अनमोललाई देख्न सकिन्छ । हुन त, सलोन अनमोलसँग मात्र नभएर अधिकांश चकलेटी नायकहरुसँग फिट छन् । अब अनमोल र सलोन अर्को चलचित्र ‘हनी बनी’मा पनि एकसाथ देखिने भएका छन् ।
दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको लभस्टोरी चलचित्रमा अनमोल केही दिनअघि अनुबन्धित भएका थिए । निर्माणपक्षले अब सलोनलाई पनि चलचित्रमा अनुबन्ध गरेको छ । यो चलचित्रका लागि अभिनेत्री भने खोजी भइरहेको निर्देशक भट्टराईले बताए ।


