विनोद पौडेलको ‘रबर सिटी’ छायांकनमा - Crazysaptahik.com

विनोद पौडेलको ‘रबर सिटी’ छायांकनमा

भुटानी शरणार्थीको कथामा आधारित चलचित्र ‘रबर सिटी’ फेब्रुअरी १६ बाट छायांकन सुरु भएको छ । विनोद पौडेल निर्देशित चलचित्रको छायांकन अमेरिकाबाट थालनी गरिएको हो । चलचित्रको धेरैजसो छायांकन ओहियो राज्यको एक्रोन सहरमा हुनेछ ।

छायांकनको लागि एक महिनाको समयतालिका छुट्याइएको निर्देशक पौडेलले बताए । चलचित्रको केन्द्रीय भूमिकामा सुशांक मैनाली छन् । यसैगरी चलचित्रमा राधा लम्साल, अरुणा कार्की लगायतको पनि मुख्य भूमिका छ । केही अमेरिकी कलाकार पनि यसमा समावेश छन् ।

पौडेल उम्दा निर्देशकमा गनिन्छन् । उनी सतही कथा भन्दा पनि भावनात्मक अन्तद्र्वन्द्वलाई दृश्यभाषामा उतार्न माहिर छन् । ‘बुलबुल’ जस्तो उत्कृष्ट चलचित्र बनाएका निर्देशक पौडेल लामो समयदेखि भुटानी शरणार्थीको विषयमा चलचित्र बनाउने अभ्यासमा थिए ।

‘रबर सिटी’ले भुटानी शरणार्थीको जीवनमा आउने उतारचढावको कथा भन्छ । ‘भुटानबाट लखेटिएका, नेपालमा आश्रय लिएका र अमेरिकामा शरणार्थी जीवन बिताइरहेका एउटा परिवारको कथा हो यो,’ पौडेल भन्छन्, ‘मुलुकको राजनीतिक र रणनैतिक निर्णयहरुले एउटा मान्छेको जीवनमा कति धेरै उथलपुथल ल्याउँछ भन्ने विषय यसमा देखाउन खोजिएको छ ।’

चलचित्रका पोस्ट प्रोडक्सनको सम्पूर्ण काम अमेरिकामा हुने निर्माण पक्षले जनाएको छ । यसलाई खासगरी फिल्म फेस्टिभलमा प्रदर्शन गरिने निर्देशकको पौडेलले बताए । त्यस्तै ओटीटी प्लेटफर्ममार्फत सार्वजनिक गर्नका लागि पनि पहल भइरहेको उनको भनाइ छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.