‘लप्पनछप्पन २’को ट्रेलरमा सौगातलाई सुपरस्टार लेखेकोमा शिवको असन्तुष्टि ! - Crazysaptahik.com

‘लप्पनछप्पन २’को ट्रेलरमा सौगातलाई सुपरस्टार लेखेकोमा शिवको असन्तुष्टि !

अभिनेता शिव श्रेष्ठ चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् । एकताका पाकिस्तानी चलचित्र क्षेत्रमा समेत राज गरेका शिव आज पनि अभिनयमा उत्तिकै सक्रिय छन् । शिव श्रेष्ठको समेत मुख्य भूमिका रहेको चलचित्र ‘लप्पनछप्पन २’ आगामी शुक्रबार रिलिज हुँदैछ ।

यो चलचित्रको टिजरमा अभिनेता सौगात मल्ललाई सुपरस्टारको ट्याग दिइएको छ ।सौगातलाई सुपरस्टारको ट्याग दिइएकोमा आलोचना पनि भइरहेको छ । तर चार दशककको आफ्नो फिल्मी करिअरमा थुप्रै हिट चलचित्र दिएका शिवलाई भने चलचित्रमा कुनै पनि उपमा दिइएको छैन ।

शिवले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस विषयमा घुमाउरो ढंगले असन्तुष्टि जनाएका छन् । उनले भने, ‘चलचित्रमा अभिनय गरेका सबै सुपरस्टार भएपनि म भने सामान्य कलाकार मात्र हुँ । म चार दशकदेखि चलचित्र क्षेत्रमा छु ।

अझै पनि मैले धेरै कुरा सिक्न बाँकी छ । यो चलचित्रबाट मैले नयाँ कुरा सिक्न पाएको छु । मैले धेरै आशा गरेको चलचित्र ‘लप्पनछप्पन २’ हो ।’ शिवको यो कुराले पनि उनी चलचित्रको टिमप्रति केही असन्तुष्ट रहेको बुझ्न सकिन्छ ।

किनकि, शिवले आफूबाहेक चलचित्रमा काम गरेका सबै कलाकारलाई सुपरस्टार भनेका छन् । यो चलचित्रमा काम गरेका अन्य कलाकार शिवभन्दा धेरै पछि चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा शिवले एक खराब राजनीतिज्ञको भूमिकामा अभिनय गरेका छन् ।

सम्बन्धित खवर