
शुक्रबारदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ग्याङस्टर ड्रामा ‘लप्पनछप्पन २’ र हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ प्रदर्शनमा आएका हुन् । मुकुन्द भट्ट निर्देशित मल्टिस्टारर ‘लप्पनछप्पन २’मा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।
पैसा, शक्ति र राजनीतिबीचको सम्बन्धलाई चित्रण गरिएको यो फिल्मलाई एक्सन जनरामा रुचि हुने दर्शकले मन पराउन सक्छन् । नेपालसहित युरोपका विभिन्न देशमा छायांकन गरिएको यो फिल्मको बक्स अफिस व्यापार यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।
चार करोड रुपैयाँ लगानीमा निर्माण भएको भनिएको फिल्मलाई अस्ट्रेलिया र युरोपमा समेत प्रदर्शन गर्ने तयारी छ । शुक्रबारै हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ मल्टिप्लेक्सहरुमा रिलिज भएको छ ।
म्याट रिभ्स निर्देशित फिल्ममा रोबर्ट प्याटिन्सनले ब्याटम्यानको भूमिका निर्वाह गरेका छन् ।राइडलर नामक एक सिरियल किलरले जब गोथम सहरका प्रतिष्ठित राजनीतिज्ञको हत्या गर्न थाल्छ, तब ब्याटम्यानले सहरमा लुकेको भ्रष्टाचारको छानबिन थाल्छ ।
त्यसमा परिवारको संलग्नताबारे प्रश्न पनि उठाउन बाध्य हुन्छ । गत साता रिलिज भएका ‘गंगुबाई कठियावाडी’, ‘म यस्तो गीत गाउँछु २’, ‘भलिमाइ’ र ‘अनचार्टेड’ले समेत स्थिर प्रदर्शनलाई कायमै राखेका छन् ।
जसले गर्दा शुक्रबार रिलिज भएका दुई नयाँ फिल्मलाई गत साताका फिल्म पनि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।


