‘द ब्याटम्यान’ले गरे कोरोना महामारीयताकै दोस्रो उच्च ओपिनङ - Crazysaptahik.com

‘द ब्याटम्यान’ले गरे कोरोना महामारीयताकै दोस्रो उच्च ओपिनङ

हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ले उत्तर अमेरिकी बक्स अफिसमा कोरोना महामारीयताकै दोस्रो सर्वाधिक ओपनिङ गरेको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार यो कमाइ ‘स्पाइडरम्यानः नो वे होम’पछिको धेरै हो ।

रोबर्ट प्याटिन्सन स्टारर फिल्मले पहिलो सप्ताहन्तमा उत्तर अमेरिकी बक्स अफिसमा १२८.५ मिलियन डलर कमाइ गरेको छ । यो निर्देशक म्याक रिभ्सको फिल्मको अहिलेसम्मकै उच्च ओपनिङ भएको जनाइएको छ ।डिसेम्बर २०१९ यता १०० मिलियन डलरभन्दा बढी कमाइ गर्ने यो दोस्रो फिल्म हो ।

संसारका अन्य ७५ फिल्म बजारबाट २४७.५ मिलियन डलर कमाइ भएको समेत म्यागजिनले जनाएको छ ।तीन घण्टा लामो र र डार्क दृश्यभाषाको बाबजुद पनि ‘द ब्याटम्यान’ले सुरुवाती चरणमा राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । कमाइ र समीक्षाको हिसाबले फिल्मबाट स्टुडियो वार्नर ब्रोजलाई राहत मिलेको छ ।

नेपालमा तीन दिनमा ४५ लाख ग्रस कलेक्सन

वार्नर ब्रोजका फिल्मको नेपाल वितरण अधिकार लिएयता रिलिज भएको ‘द ब्याटम्यान’ले पहिलो सप्ताहन्त नेपालमा ४५ लाख ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

कम्पनीका व्यवस्थापक रुबेन श्रेष्ठका अनुसार अपेक्षा अनुसार ओपनिङ नभएपनि यो कमाइ सुखद चाहिं अवश्य हो । गत महिना एप्पलले वार्नर ब्रोजसँग सम्झौता गर्दै फिल्म वितरणको नेपाल अधिकार लिएको थियो ।

उक्त सम्झौतापछि पहिलो वार्नर ब्रोज फिल्मको रुपमा द ब्याटम्यान नेपाली हलहरुमा रिलिज भएको हो । नेपालमा ब्याटम्यान र रोबर्ट प्याटिन्सनको राम्रो फ्यान फलोइङ समेत छ ।

 

सम्बन्धित खवर