कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक - Crazysaptahik.com

कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक भएको छ । बिहीबार आयोजित समारोहमा घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गीत सार्वजनिक गरे ।

राज के स्वामीको स्वर रहेको गीतको रचना अभिनेत्री तथा मोडल सुरक्षा पन्तले गरेकी हुन् । मानव सुवेदीको संगीतमा गीत तयार भएको हो । गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र अन्य दुई पात्रको संघर्ष यो गीतको भिडियोमा चित्रण गरिएको छ ।

गाउँमा बिजुली ल्याउन प्रयासरत इन्जिनियरको निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको कामलाई पूरा गर्न गरेको संघर्ष यसमा देखाइएको छ । सुरक्षाले नै भिडियाको पटकथा तयार पारेकी हुन् ।

अभिनेता राजेश हमालले कला र समाजबीच गज्जबको तालमेल हुने भन्दै भिडियोको प्रशंसा गरे । घिसिङको गाउँमा बिजुली ल्याउन गरेको मेहनत चित्रण गरिएको एक भिडियोबाट प्रभावित भएर आफूहरुले सिर्जना गरेको सुरक्षाले बताइन् ।

‘मैले उहाँको भिडियो हेरेकी थिएँ । जहाँ हाम्रो चरित्रले खेपेजस्तै अवरोध उहाँले पनि खेप्नुपरेको थियो,’ इन्जिनियर समेत रहेकी सुरक्षाले भनिन्, ‘एकअर्थमा भन्ने हो भने यो भिडियो उहाँजस्तै कुशल नेतृत्वकर्तालाई ट्रिब्युट पनि हो ।’

कार्यकारी निर्देशक घिसिङले आफ्नो कामलाई केन्द्रमा राखेर बनाइएको भिडियो हेर्दा खुसी मिलेको बताए । आफूले बिजुलीको महत्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै उनले नेपालको कुनाकुनामा बिजुली पुराउने आफू दत्तचित्त रहेको बताए ।नेपालका ९५ प्रतिशत नागरिकको घरआँगनमा बिजुली पुराउने आफू अहिले लागिरहेको समेत उनले बताए ।

म्युजिक भिडियोको निर्देशन मानव सुवेदीले गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.