बलिउड फिल्म ‘द कश्मीर फाइल्स’का विषयमा भइरहेको विवादका बीच जम्मु–कश्मीरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले कसैको षड्यन्त्रका कारण सन् १९९० को घटना भएको बताएका छन् ।
त्यही षड्यन्त्रका कारण कश्मिरी पण्डित भाग्न बाध्य बनाएको उनको भनाइ छ । इण्डिया टुडेसँगको कुराकानीमा पूर्व मुख्यमन्त्री अब्दुल्लाले कश्मिरी पण्डितहरुले कश्मीर छाड्नु परेको घटना एकदमै खराब रहेको र यसका कारण आज पनि आफ्नो मन रोइरहेको बताए ।
उनले भनेका छन्, ‘कोही कश्मिरी छैनन्, जो उनीहरुका लागि नरोएका हुन् । सबै चाहन्छन् कि उनीहरु आफ्नो घर (कश्मीर) फर्किउन्, अनि मात्रै कश्मीर पूर्ण हुनेछ ।’उनले सन् १९९० को घटना कसको षड्यन्त्रमा भएको थियो भन्ने विषयको पूर्ण छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।
कश्मीरका पूर्व मुख्यमन्त्री अब्दुल्लाले फिल्म ‘द कश्मीर फाइल्स’माथि टिप्पणी गर्दै फिल्मले नागरिकको मन जोड्ने होइन तोड्ने काम गरेको बताएका छन् । फिल्मकै कारण पूरा देशमा आगो लागिरहेको भन्दै उनले यसलाई ननिभाए देशलाई नै जलाउन सक्ने चेतावनी दिएका छन् ।
उनले हिन्दू–मुस्लिमको सम्बन्ध अरु खराब हुन सक्ने भन्दै यसलाई नभड्काउन सरकारलाई आग्रह समेत गरेका छन् । सन् १९९० मा कश्मिरी पण्डितहरु कश्मीरबाट लखेटिएको घटनामा आधारित फिल्म ‘द कश्मीर फाइल्स’ले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यो फिल्मलाई लिएर पक्ष र विपक्षमा बहस भइरहेका छन् ।
विवेक अग्निहोत्रीले निर्देशन गरेको यो फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी लगायतको मुख्य भूमिका छ ।