हलिउड अभिनेत्री मार्लिनको तस्वीर २०० मिलियन डलरमा बिक्रीमा राखिने - Crazysaptahik.com

हलिउड अभिनेत्री मार्लिनको तस्वीर २०० मिलियन डलरमा बिक्रीमा राखिने

सन् १९६० को दशककी चर्चित हलिउड अभिनेत्री मार्लिन मुनरोको पोट्रेट तस्वीर २०० मिलियन डलरको कीर्तिमानी मूल्यमा बिक्रीमा राखिने भएको छ । रोयटर्सका अनुसार पप आइकन एन्डी वारहोलले तयार पारेको यो पेन्टिङलाई क्रिस्टिजले बिक्रीमा राख्न लागेको हो ।

‘सट सेज ब्लु मार्लिन’ नामको उक्त पेन्टिङ बीसौं शताब्दीको सबैभन्दा महँगो पोट्रेट रहेको क्रिस्टिजका अध्यक्ष एलेक्स रोटरले भने । उज्यालो पहेंलो कपाल, गुलाबी अनुहार र हल्का नीलो आँखाको छायाँले छोपिएको मुनरोको उक्त पोट्रेट वारहोलले अभिनेत्रीमाथि कोरेका पाँचमध्येको एक तस्वीर हो ।

यो तस्वीर बनाउन वारहोलले स्क्रिनिङ प्रविधिको मद्दत लिएका थिए । ‘यो पेन्टिङ निकै जटिल किसिमको थियो, जुन उनले त्यसयता कहिल्यै बनाएनन्,’ अध्यक्ष रोटरले भने । उक्त पेन्टिङ बिक्रीबापत प्राप्त हुने रकम संसारका बालबालिकाको हितमा काम गर्ने सामाजिक संस्था थोमस एन्ड डोरिस अम्मान फाउन्डेसनलाई प्रदान गरिने भएको छ ।

वारहोलले बनाएको अर्को चित्र ‘सिल्भर कार क्र्यास’लाई सन् २०१३ मा १०५ मिलियन डलरमा बिक्री भएको क्रिस्टिजले जनाएको छ ।

सम्बन्धित खवर