चलचित्रकर्मी कल्याण कोषलाई दीपक–दीपाले तीन लाख दिने - Crazysaptahik.com

चलचित्रकर्मी कल्याण कोषलाई दीपक–दीपाले तीन लाख दिने

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्माता रोहित अधिकारीले चलचित्रकर्मी कल्याण कोषलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । तीनैजना फिल्मकर्मीले व्यक्तिगत तर्फबाट एक–एक लाख रुपैयाँ प्रदान गर्ने भएको कोष संयोजक तथा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले जानकारी दिइन् ।

कोषकी सदस्य समेत रहेकी निर्देशक निरौलाले कलाकारको दायित्व सम्झिएर कोषमा आफ्नै कमाइबाट आर्थिक सहायता दिने निर्णय गरेको बताइन् । यो रकम विपद्मा परेका कलाकारको सहयोगका लागि खर्च हुने उनले बताइन् ।

‘सहयोग गर्नु कलाकारको कर्तव्य नै हो । केही हुने बित्तिकै हामीले कल्याणकारी कोषलाई गुहार्छौं,’ दीपाश्रीले भनिन्, ‘यस क्षेत्रमा समर्पित व्यक्तिहरुलाई हामी कोषलाई सहायता गर्न आग्रह पनि गर्छौं ।’

कोषले पछिल्लो समय फिल्मकर्मीको उपचार र वृद्धवृद्धालाई पनि आर्थिक सहायता प्रदान गर्दै आएको छ । कलाकार र प्राविधिकको वस्तुस्थिति हेरेर पैसा दिइएको छ । अभिनेत्री पल्पसा डंगोलको उपचारका लागि २ लाख दिइयो भने क्यान्सर रोगीको स्थिति हेरेर २ देखि ५ लाख रुपैयाँसम्म दिने व्यवस्था पनि छ ।

अहिले कोषसँग ५ करोड रुपैयाँ मौज्दात छ । अर्को एक प्रश्नमा निर्देशक निरौलाले स्थानीय चुनावपछि मात्र ‘छक्कापञ्जा ४’को छायांकन सुरु गर्ने जानकारी दिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.