बेलायती गायक एड सिरनले सन् २०१७ को आफ्नो चर्चित गीत ‘सेप अफ यु’लाई लिएर अदालतमा चलिरहेको प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा जितेका छन् ।
रोयटर्सका अनुसार गायक सिरन र गीतकार जोनी म्याकडेड र निर्माता स्टिभ म्याककुचिएनले उक्त गीतलाई सन् २०१५ को सामी चोक्रीको गीत ‘ओ ह्वाइ’बाट चोरी गरिएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । ‘सेप अफ यु’ सिरनको तेस्रो एल्बम ‘डिभाइड’मा संग्रहित थियो ।
सामी स्वीच नामले चर्चित गायक चोक्री र उनका गीतकार रोसो डोनोगगले ‘सेप अफ यु’ गीतको हुकलाइन ‘ओ आई’ आफूहरुको गीतको हुकिङ लाइन ‘ओ ह्वाइ’सँग मिलेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए ।
सिरनको पक्षबाट अदालतमा भनाइ राखेका इयान मिल क्युसीले ११ दिनको अदालती बयानका क्रममा १२ अक्टोबर २०१६ मा रकस्टोन स्टुडियोमा पुगेर ‘सेप अफ यु’ लेख्नुअघि कुनै पूर्वनिर्धारित विचार थिएन ।
बुधबार यस विवादमा निर्णय सुनाउँदै बेलायती उच्च अदालतका न्यायाधीश जाकारोलीले गायकले ‘सेप अफ यु’ लेख्दा जानाजानी वा अवचेतन रुपमा गीत कपी नगरेको नदेखिएको बताएका छन् ।