
जी–बब नामले चर्चित ¥यापर सुदीप भण्डारी अहिले चर्चामा छन् । एएनटीएफ गायन प्रतिस्पर्धाबाट चम्किएका यी तन्नेरी सामाजिक सञ्जालमा भाइरल छन् । जी–बबलाई लिएर नयाँ खबर छ ।
अनमोल केसी स्टारर ‘ए मेरो हजुर ४’को एउटा गीतलाई उनले गाएका छन् । गीतमा उनकै शब्द र संगीत रहेको जनाइएको छ । अनमोल र जी–बबबीच बुधबार बेलुका नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा भेटघाट समेत भएको जनाइएको छ ।
भेटघाटको तस्वीर सार्वजनिक भएको छ । जहाँ फिल्म र गायन विधाका दुई स्टारलाई देख्न सकिन्छ । स्रोतका अनुसार जी–बबले गाएको गीतलाई चाँडै रिलिज गर्ने तयारी छ ।
एएनटीएफ प्रतिस्पर्धाको फाइनलबाट अचानक हराएपछि जी–बब सबैको खोजीका पात्र समेत थिए । टिकटकमा उनका गीत अहिले पनि भाइरल बनिरहेका छन् । अनमोल र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज हुँदैछ ।


