विल स्मिथलाई ओस्कारमा १० वर्ष प्रतिबन्ध - Crazysaptahik.com

विल स्मिथलाई ओस्कारमा १० वर्ष प्रतिबन्ध

ओस्कार अवार्ड वितरण समारोहमा प्रस्तोता एवं कमेडियन क्रिस रकलाई थप्पड हानेको घटनामा अभिनेता विल स्मिथलाई १० वर्षसम्म ओस्कारमा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजको निर्देशक समिति बैठकले स्मिथविरुद्ध अनुशासनको कारबाही गरेको रोयटर्सले जनाएको छ । १२ दिनअघि ओस्कार समारोहमा स्मिथले रकलाई थप्पड हानेका थिए ।

तर स्मिथले गत साता नै ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । प्रतिबन्धको निर्णय सुनाउँदै एकेडेमी अध्यक्ष डेभिड रुबिन र प्रमुख कार्यकारी डन हड्सनले भने, ‘ओस्कार समारोह फिल्म क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वले सेलिब्रेसन गर्ने अवसर समेत हो । तर उक्त अवसर निन्दनीय र अस्वीकार्य व्यवहारले छायामा प¥यो ।’

ओस्कार समितिको निर्णय लगत्तै विज्ञप्ति जारी गर्दै अभिनेता स्मिथले एकेडेमीको निर्णयलाई आफूले सम्मानसहित स्वीकार्ने बताएका छन् । यसअघि पनि स्मिथले रक, ओस्कार आयोजक र दर्शकप्रति उक्त घटनालाई लिएर माफी मागेका थिए ।

विश्वकै प्रतिष्ठित फिल्म अवार्डले स्मिथलाई आगामी १० वर्षसम्म कुनै पनि ओस्कार समारोहमा भौतिक र भर्चुअल रुपमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको जनाएको छ । तर यो समयभित्र अभिनेता स्मिथ ओस्कार अवार्डमा मनोनयन हुन्छन् वा हुँदैनन् भन्ने खुलाइएको छैन ।

दासत्वबाट भाग्ने एक पात्रको कथामा बनेको स्मिथ अभिनित थ्रिलर फिल्म ‘इम्यानिसिपेसन’ यस वर्षको अन्त्यमा रिलिज हुने तयारीमा छ । तर यो फिल्मको निर्माता कम्पनी एप्पल प्लसले मार्च २७ को उक्त कार्यक्रमपछि स्मिथ प्रकरणलाई लिएर केही बोलेको छैन ।

गत ओस्कार समारोहमा कमेडियन रकले स्मिथकी पत्नी जेडा पिंकेट स्मिथको स्वास्थ्य अवस्था र खौरिएको कपाललाई लिएर व्यंग्य गरेका थिए । त्यसपछि क्रुद्ध बनेका स्मिथले स्टेजमा पुगेर उनलाई थप्पड हानेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.