हलिउड स्टार बेन एफलेक र गायिका जेनिफर लोपेजले दोस्रोपटक ‘इन्गेजमेन्ट’ गरेका छन् । जेनिफरका प्रतिनिधिले दुई स्टारबीच ‘इन्गेजमेन्ट’ भएको पुष्टि गरेका छन् । जेनिफरले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै प्रशंसकलाई चिठी पनि लेखेकी छन् ।
सन् २००० को सुरुवातमा यी दुईले ‘ब्रेकअप’को घोषणा गरेका थिए । केही समयअघि भने दुईबीच डेटिङ चलेको हल्ला फैलियो । शुक्रबार बेलुका आफ्ना प्रशंसकलाई इमेल गर्दै जेनिफरले यस विषयमा जानकारी दिएकी थिइन् ।
भिडियोमा उनी आफ्नो आकर्षक हीराको औंठीसहित देखिएकी छन् । ट्वीट गर्दै जेनिफरले लेखेकी छन्, ‘मेजर अनाउन्समेन्ट । तपाईंहरु सबैलाई बताउन मसँग निकै उत्साही र विशेष स्टोरी छ ।’
जेनिफर र बेनबीच यसअघि रोम–कम फिल्म ‘गिगी’को सेटमा भेट भएको थियो । को–स्टार हुँदै उनीहरुले असल साथी बनेका थिए । तर फिल्म असफल भएपछि अभिनेता एफलेकले बक्स अफिस असफलतासँग आफूलाई कुनै पश्चाताप नलागेको बताएका थिए ।
‘मैले जेनिफर लोपेज पाएँ, फिल्मको असफलतासँग मलाई कुनै पछुतो छैन,’ इन्टरटेनमेन्ट विक्लीसँग उनले भनेका थिए । ५२ वर्षीय जेनिफरको चौथो र ४९ वर्षीय एफलेकको यो दोस्रो विवाह हुनेछ ।