नीताको ‘ह्रस्वदीर्घ’ बलिउड छायाँकार कबीर लालले खिच्ने - Crazysaptahik.com

नीताको ‘ह्रस्वदीर्घ’ बलिउड छायाँकार कबीर लालले खिच्ने

नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’लाई बलिउडका चर्चित छायांकार कबीर लालले खिच्ने भएका छन् । निर्माण कम्पनी र छायांकार लालबीच आइतबार भर्चुअल माध्यममार्फत लिखित सम्झौता भएको छ ।

भारतको कन्नड मूलका छायांकार लालले बलिउड स्टारहरु सलमान खान, शाहरुख खान, अनिल कपुर, टाइगर श्राफ, ऋतिक रोशन लगायतका फिल्म छायांकन गरिसकेका छन् । उनले खिचेको पछिल्लो फिल्म ‘हिरोपन्ती २’ हो, जुन २९ अप्रिलमा रिलिजको तयारीमा छ ।

निर्मात्री नीता ढुंगानाले नेपाली र हिन्दी दुवै भाषामा फिल्म छायांकन गर्नुपरेकाले छायांकार लाललाई अनुबन्धित गरिएको बताइन् । ‘दुवै भाषामा बनाउनुपर्ने र भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं ।

उहाँलाई लिनु हाम्रो सपना थियो,’ नीताले भनिन् । उनका अनुसार फिल्मको बजेटमा वृद्धि भएर ११ करोड रुपैयाँ पुगेको छ । सुरुवातमा चार करोड बजेट हुने भनिएपनि भारतीय कास्ट एण्ड क्रु नै सहभागी हुने भएकाले बजेटको आकार बढेको हो ।

नीता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्दैछ । भारतको बजार ठूलो भएकाले पनि हामीले यति महँगो बजेटमा फिल्म बनाउन लागेका हौं । लगानी उठ्ने कुरामा हामी निश्चित छौं,’ नीताले भनिन्, ‘क्वालिटीमा सम्झौता हुनेछैन ।’

फिल्मको लागि केही चर्चित भारतीय कलाकारलाई समेत अनबुन्धित गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् । स्रोतका अनुसार लाललाई ५० लाख भारुमा अनुबन्धित गरिएको हो, तर नीताले यसबारे खुलाउन चाहिनन् ।

फिल्मको हिन्दी संस्करणको चाँडै औपचारिक घोषणा हुने र शीर्षक पनि तय गरिने तयारी भएको छ । कन्नड फिल्म ‘कर्तव्य’बाट छायांकन करिअर सुरु गरेका उनले अनिल कपुरको त्रिमूर्तिबाट हिन्दी फिल्ममा काम थालेका थिए ।

राकेश रोशनको कहो ना प्यार है, अनिल कपुरको ताल, सञ्जय दत्त र मनीषा कोइरालाको खौफ, सलमान खानको युवराज, टाइगर श्राफको हिरोपन्ती–२ लगायत ३४ हिन्दी फिल्म छायांकन गरेका छन् ।

‘ह्रस्वदीर्घ’मा नेपालबाट भने नीता स्वयंसहित सलोन बस्नेत र हरिहर अधिकारी फाइनल छन् । आगामी साउनदेखि पहिलो चरणको छायांकन सुरु हुने र दशैंपछि बाँकी छायांकन सम्पन्न गर्ने जनाइएको छ । फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्नेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.