कर्मा भन्छन्– स्टार बन्न फिल्म क्षेत्रमा आएको होइन - Crazysaptahik.com

कर्मा भन्छन्– स्टार बन्न फिल्म क्षेत्रमा आएको होइन

कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’ वैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मबारे जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरियो ।

फिल्मका निर्देशक मिलन डी काप्रीले ‘षट्कोण’ युवाको समूहले बनाएको मनोवैज्ञानिक थ्रिलर भएको बताए । ‘नेपालमा बन्ने अन्य फिल्मभन्दा फरक ढंगले फिल्म बनाउने प्रयास गरेका छौं,’ उनले भने, ‘यसमा हिरो हिरोइनको फाइट र नाचगान छैन, तर कथा सुहाउँदो गीत चाहिं राखेका छौं ।’

नेपालमा फरक खालको फिल्म निर्माण गरेकाले साथ दिन निर्देशक काप्रीले दर्शकलाई आग्रह समेत गरे । पत्रकार सम्मेलनमा अभिनेता कर्माले स्टार बन्न आफू नेपाली फिल्म क्षेत्रमा नआएको बताए ।

‘मेरो नामको अर्थ स्टार अर्थात् तारा भएपनि म तारा बन्नको लागि फिल्ममा आएको होइन । मलाई तारा बन्नु पनि छैन । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजें त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नुछ विशुद्ध भुईंमा बसेर ।

तर स्टार बन्ने मेरो इच्छा छैन,’ कर्माले भने । पत्रकार भेटघाटमा निर्देशक काप्री, कलाकार कर्मासहित भोलाराज सापकोटा, लोकेन्द्र लेखक र निर्माता तथा अभिनेता विराज कडरिया उपस्थित भएका थिए ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रु फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म कोरोना महामारीले रिलिज हुन ढिलो भएको हो । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.