
कर्णाली प्रदेशमा पहिलोपटक मिस नेपालको अडिसन आयोजना भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार र बुधबार अडिसन आयोजना गरिएको छ । दैलेख र सुर्खेत लगायत प्रदेशका जिल्लाबाट १० जना सुन्दरीले अडिसन दिएको संयोजक तेज जीसीले बताइन् ।
‘कर्णालीबासीका लागि यो अवसर हो,’ उनले भनिन्, ‘काठमाडौं जान नसकेर पनि कतिपय प्रतिभा छुटेका थिए । अब भने उनीहरुले प्रतिभा देखाउने मौका पाएका छन् ।’ मापदण्डअनुसारका प्रतिभाशाली सुन्दरीले अडिसनमा भाग लिएको जीसीले बताइन् ।

‘कर्णालीका युवतीलाई पनि निःशुल्क अडिसन दिने मौका मिलेको छ,’ उनले भनिन् । आयोजक द हिडन ट्रेजरले पहिलोपटक कर्णालीमा समेत अडिसन लिन लागिएको खुसी व्यक्त गरेको छ ।
हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले मिस नेपाल दुर्गम ठाउँमा पुग्नु हर्षको कुरा भएको बताए । बुधबार सुर्खेत र नेपालगञ्जमा अडिसन सकिंदैछ भने धनगढीमा बिहीबार हुनेछ ।
धरान र काठमाडौंमा अडिसन हुन बाँकी छ । अहिलेसम्म ७०० भन्दा बढीले प्रतिस्पर्धाका लागि आवेदन दिएका छन् । आवेदन दिनेको संख्या अहिलेसम्मकै उच्च रहेको हिडन ट्रेजरले जनाएको छ । मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरको गोदावारीमा आयोजना हुँदैछ ।

