‘चिसो मान्छे’ नेपालसहित अमेरिका र क्यानडामा एकैदिन रिलिज हुने - Crazysaptahik.com

‘चिसो मान्छे’ नेपालसहित अमेरिका र क्यानडामा एकैदिन रिलिज हुने

कोरोना महामारीले प्रभावित नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार लयमा फर्किने क्रममा छ । स्वदेश र विदेशमा एकैदिन फिल्म रिलिज हुन थालेका छन् । पछिल्लो समय ट्रेलरबाट राम्रो प्रशंसा बटुलेको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गते नेपालसहित अमेरिका र क्यानडामा पनि एकैदिन रिलिज हुने भएको छ ।

आत्रेय प्रोडक्सन एण्ड नेपाल इलेभेन इन्टरटेनमेन्टले फिल्मलाई अमेरिका र क्यानडामा सोही दिनमा प्रदर्शन गर्न लागेको हो । निर्देशक दीपेन्द्र के खनालले महंगो मूल्यमा उत्तर अमेरिकाको प्रदर्शन अधिकार बिक्री भएको बताए ।

‘अन्य मुलुकबाट पनि फिल्मको राइट खरिदको लागि फोन आइरहेका छन् । अस्ट्रेलिया लगायतका देशमा पनि एउटै मितिमा रिलिजको पहल गरिरहेका छौं,’ खनालले भने । ट्रेलरबाट प्राप्त राम्रो समीक्षाले विदेशमा बजार सिर्जना गर्न सहज भइरहेको खनालले बताए ।

‘कबड्डी’ र ‘चिसो मान्छे’को विदेशबाट आइरहेको मागले कोरोनापछि नेपाली फिल्मको विदेशी बजार लयमा फर्किएको संकेत मिल्छ,’ उनले भने । स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका रहेको फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामलाई चित्रण गर्छ ।

मलेसियामा मृत्यु भएको एक व्यक्तिको शवलाई बाजुरास्थित घरमा लैजान उसको परिवारले काठमाडौंदेखि गर्ने यात्रा फिल्मको कथा हो । खनालले निर्देशन गरेका अघिल्ला फिल्म ‘पशुपतिप्रसाद’ र ‘आमा’ले विदेशी बजारको खोजीमा पहल गरेका थिए ।खनाल अहिले ‘के घर के डेरा’को छायांकन र ‘पशुपतिप्रसाद २’को प्रि–प्रोडक्सनमा समेत व्यस्त छन् ।

 

सम्बन्धित खवर