गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को छायांकन सुरु - Crazysaptahik.com

गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को छायांकन सुरु

संवादसहितको गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी देवेन्द्र पाण्डेको निर्देशनमा बन्न लागेको गीति फिल्मको घोषणा गरिएको हो ।

कार्यक्रममा कलाकारहरु अविनाश न्यौपाने र श्रेया कार्कीले मुहूर्त सट दिएका थिए । यी दुईले फिल्ममा प्रेमिल जोडीको रुपमा अनस्क्रिन रोमान्स गर्दैछन् । सौरपानी मिडियाले निर्माण गर्ने फिल्मको छायांकन बुधबारदेखि तारकेश्वर नगरपालिकाको धर्मस्थलीबाट सुरु भएको छ ।

फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ ।फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् । उनले लेखेका ६ वटा लोकगीतमा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो ।

पूर्ण नेपालीको एकल संगीतमा रहेका गीतमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार र धर्मेन्द्र सेवानको स्वर हुनेछ । निर्माता पनेरुले पैसा कमाउने उद्देश्य नबोकी फिल्म निर्माण गर्न लागेको बताए ।

उनले भने, ‘फरक फरक शैलीका लोकगीतमार्फत फिल्ममा कथा भनिनेछ । यसलाई आधुनिक मुना मदन पनि भन्न सकिन्छ । तर यो सुखान्त मुनामदन हुनेछ ।’

१५ दिनको छायांकन तालिका रहेको गीति फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालको रहनेछ । फिल्म निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटीसहित हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.