चर्चित भारतीय गायक केकेको निधन, प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त - Crazysaptahik.com

चर्चित भारतीय गायक केकेको निधन, प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त

भारतका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो ।

अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो । अस्पतालमा पुगेका पश्चिम बंगालका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकले हृदयघातबाट उनको निधन भएको हुनसक्ने प्रारम्भिक जानकारी दिएका छन् । कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन उनी त्यहाँ पुगेका थिए ।

बलिउडसहित तमिल, तेलुगू, कन्नड, मराठी, बंगाली र गुजराती फिल्ममा समेत उनले गीत गाएका थिए । निधनभन्दा केही समयअघि उनले कोलकातामा भएको कन्सर्टका तस्वीर र भिडियो सेयर गरेका छन्  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक व्यक्त गरेका छन्। हिन्दी, तमिलसहित आठ भाषामा गीत गाएका केकेले फिल्म ‘माचिस’मा संलग्न ‘छोड आए हम’मार्फत बलिउडमा डेब्यु गरेका थिए ।

हम दिल दे चुके सनम, तडप तडपबाट उनले पछि फर्केर हेर्नुपरेन । एल्बम पलबाट उनले सांगीतिक करियर थालेका थिए । ‘बजरंगी भाइजान’को गीत तु जो मिला, ‘ओम शान्ति ओम’को अजब सी, ‘वो लम्हे’को क्या मुझे प्यार है, ‘रेडी’को हमको प्यार हुवा, पल एल्बमको पल, ‘काइट्स’को दिल क्यों ए मेरा, ‘भूल भुलैया’को लबों को, ‘द ट्रेन’को बिते लम्हे, ‘हम दिल दे चुके सनम’को तडप तडप, ‘दश’को दश बहाने लगायत उनका चर्चित गीत हुन् ।

सम्बन्धित खवर