तीन बलिउड कलाकारले नेपालमा आफ्ना ‘हट’ प्रस्तुति दिएका छन् । बलिउड अभिनेत्री अमिषा पटेल, ‘बाहुबली’ फेम्ड स्कारलेट विल्सन र गायिका मेघना नैडूले झापाको माहोल तताएका हुन् । यसैसाता झापाको मेचीनगरस्थित जोशी मलमा रहेको क्यासिनो भेगासमा यी तीन जनाले प्रस्तुति दिएका हुन् ।
१० देखि १४ जुनसम्म चलेको उक्त जमघटमा १२ तारिखमा अमिषाले प्रस्तुति दिएकी थिइन् । अमिषाले आधा दर्जनभन्दा बढी चर्चित गीतमा डान्स गरेकी थिइन् । ‘कलियुगका चमन’ गीतबाट हिट गायिका नैडूले आफ्ना चर्चित ट्रयाक गाएर माहोल तताइन् ।
‘बाहुबली’ फिल्मको पहिलो भागमा नायक प्रभाससँग आइटम गीतमा स्क्रिन सेयर गरेकी अभिनेत्री स्काटरलेट पनि डान्सिङ प्रस्तुति दिएकी हुन् । भारतको इभेन्ट म्यानेजमेन्ट कम्पनी जय माता दीले महंगो पारिश्रमिकमा यी तीन सेलिब्रिटीलाई नेपाल ल्याएको हो ।