जब मुस्ताङमा सयौं जनाले घेराउ गरे अमिताभ बच्चन चढेको कार ! - Crazysaptahik.com

जब मुस्ताङमा सयौं जनाले घेराउ गरे अमिताभ बच्चन चढेको कार !


अभिनेता डेनी डेन्जोङ्पाले नेपालको मुस्ताङमा छायांकन भएको आफ्नो फिल्म ‘खुदा गवाह’को स्मरण गर्दै सुटिङ सेटमा सयौं जनाले आफू र अमिताभ बच्चन चढेको कारलाई घेराउ गरेको क्षण सम्झिएका छन् । बलिउड म्यागजिन फिल्म फेयरसँगको हालैको एक अन्तर्वार्तामा डेनीले नेपाल छायांकनलाई सम्झिएका हुन् ।

कार घेराउ गर्दा आफू आक्रोशित भएको, तर गेटअपमा रहेका अमिताभ बच्चनले आफ्नो हात समात्दै शान्त रहन आग्रह गरेको सम्झिए । साथै, उनले अस्पतालमा रहेका आफ्ना अभिभावकको हेरचाहमा खटिएका अमिताभ आज्ञाकारी सन्तान भएको समेत बताए । सन् १९९२ मा रिलिज भएको फिल्म खुदा गवाहको छायांकन मुस्ताङमा गरिएको थियो ।

मुकुल आनन्द निर्देशित फिल्ममा अमिताभ, डेनी, श्रीदेवी, नागार्जुन, शिल्पा शिरोडकर र किरण कुमारको मुख्य भूमिका रहेको थियो । मुस्ताङ छायांकन सम्झिंदै डेनीले भने, ‘हामी नेपालको दुर्गम ठाउँ मुस्ताङमा फिल्म सुटिङ गरिरहेका थियौं । त्यतिबेला सयौं मानिसले हाम्रो कार घेराउ गरेका थिए । त्यतिबेला कार हल्लिरहेको थियो । म आक्रोशित बनें ।

कारभित्र एसी नहुँदा पनि अमिताभजी पगडी र बाक्लो दारीसहित हुनुहुन्थ्यो । उहाँले मेरो हात समात्दै भन्नुभयो, आरामपूर्वक बस्नुस्, त्यो गर्मीलाई सहनुस्, यदि तपाईं बाहिर जानुभयो भने तपाईंको गेटअपबारे सबैलाई थाहा हुन्छ ।’ नेपाली फिल्मका गीत समेत गाएका डेनीको वास्तविक नाम चाहिं छिरिङ पिन्त्सो हो ।

उनले हलिउड अभिनेता ब्राड पिटसँग फिल्म ‘सेभेन इयर्स अफ तिब्बत’मा पनि अभिनय गरेका छन् । संयोगवश उनै डेनी र अमिताभ अभिनित फिल्म उचाइको छायांकन हालै नेपालमा भएको छ । ‘उचाइ’ मित्रतामा आधारित कथावस्तुमा बनेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.