
अभिनेता विपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन् । शीर्षक तय भइनसकेको फिल्मका लागि बिहीबार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ । फिल्मबारे थप खुलाइएको छैन । अनुबन्धित भएपछि कुरा गर्दै अभिनेता कार्कीले फिल्मको शीर्षक र अन्य कलाकार तय नभएको जानकारी दिए ।
फिल्ममा विपिनले मुख्य भूमिका निर्वाह गर्दैछन् । केही समयअघि यो फिल्मको लागि अडिसन आह्वान गरिएको थियो । इलाममा फिल्म छायांकन हुँदैछ । बलिउड प्रोजेक्ट ‘एनिमल’को छायांकनबीच विपिन यो फिल्ममा आबद्ध हुनेछन् । उनी भारततर्फ कहिले जान्छन् भन्ने टुंगो केही दिनमा लाग्नेछ ।
‘प्रसाद २’ विपिनको आगामी प्रोजेक्ट हो । ‘रचनात्मक विभेद’को कारण छड्के २ नगर्ने निर्णय उनले गरेका छन् भने नयनराज पाण्डेको उपन्यासमा आधारित ‘लू’मा काम गर्ने मौखिक सहमति जुटेको छ ।

