‘छक्कापञ्जा’बाट अलग भएका तीन निर्माता कमेडी फिल्म बनाउँदै, निर्देशकमा दिनेश डीसी - Crazysaptahik.com

‘छक्कापञ्जा’बाट अलग भएका तीन निर्माता कमेडी फिल्म बनाउँदै, निर्देशकमा दिनेश डीसी

‘छक्कापञ्जा’ समूहबाट अलग भएका तीन जना निर्माताले नयाँ कमेडी फिल्म निर्माण गर्ने भएका छन् । दशैंपछि छायांकन सुरु हुने फिल्मलाई दिनेश डीसीले निर्देशन गर्ने तय भएको छ । विगतमा दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा रहेर काम गरिसकेका जितु नेपाल, सुमन गिरी भाञ्जा र ताराचन्द्र बजगाईं निशानले नयाँ फिल्म निर्माणको तयारी थालेका हुन् ।

यो फिल्मको पटकथा अहिले जितुले लेखिरहेका छन् । कमेडी विधामा निर्माण हुने फिल्मको लेखन अन्तिम तयारीमा पुगेको गिरीले जानकारी दिए । ‘दशैंपछि छायांकन तयारीमा छौं,’ उनले भने । निर्देशक डीसीले पनि फिल्मको तयारी सुरु भएको बताए । डीसी अहिले बायोपिक फिल्म ‘सर्वजीत’को छायांकन तयारीमा छन् भने यो फिल्म सकिएपछि मात्र नयाँ फिल्म सुरु हुनेछ ।

यसैबीच, जितु नेपालको टीभी शो ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ लाई पनि डीसीले नै निर्देशन गर्ने भएका छन् । साउन दोस्रो सातादेखि प्रसारण थाल्ने गरी जितु शोको निर्माणमा जुटेका छन् । यसैबीच, दीपक र दीपाले निर्माण गर्न लागेको नयाँ फिल्मको पटकथा लेखन अन्तिम चरणमा पुगेको छ ।

फिल्मको साउन पहिलो सातादेखि छायांकन सुरु गर्ने तयारी छ । जितु, सुमन र ताराचन्द्रले दीपक–दीपासँग मिलेर छक्कापञ्जा सिरिजसहितका नयाँ फिल्ममा सहकार्य गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.