हजार बढी फिल्मको रेकर्ड राखेका ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा - Crazysaptahik.com

हजार बढी फिल्मको रेकर्ड राखेका ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा

एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् । निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ ।

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको यो फिल्ममा ब्रह्मानन्दम देखिन लागेको निर्देशक चन्द्र पन्तसँगको तस्वीरमार्फत जानकारी दिइएको छ । तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका उनी अभिनयको ‘कमिक एक्सप्रेसन’बाट चर्चित छन् । सन् १९९९ मा अमिताभ बच्चनसँग ‘सूर्यवंशम्’मा अभिनय गरेयता उनले कुनै हिन्दी फिल्ममा अभिनय गरेका छैनन् ।

ब्रह्मानन्दमको उपस्थितिले फिल्मको लाइनअप बलियो भएको नीताले बताइन् । यसअघि यो फिल्ममा सुनिल बर्मा, प्रदीपराज रावत, एक्टर अली समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई बलिउड छायांकार कवीरलालले खिच्ने पक्का भइसकेको छ ।

नेपाल र भारतमा खिचिने ‘ह्रस्वदीर्घ’मा धनन्जय घलानी कास्टिङ निर्देशक छन् । नेपाली कलाकारहरु हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेत पनि फिल्मको मुख्य भूमिकामा छन् । असोजदेखि छायांकन सुरु हुने फिल्मलाई भारतको चर्चित फिल्म स्टुडियो रामोजीमा समेत सुटिङ गरिने भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.