
हिन्दू महिलाको पर्व हरितालिका तीज आउन करिब दुई महिना बाँकी छ । सांस्कृतिक कोणबाट तीज अब महिलाको पर्व मात्र रहेन । बरु कला र संगीतको पाटो पनि जोडिएको छ । तीज पर्व नजिकिंदै जाँदा तीज गीत निर्माणको चटारो सुरु भएको छ । अहिले लोकगीत कलाकारलाई तीज गीत बनाउन भ्याइनभ्याइ छ ।

काठमाडौंसहित विभिन्न सहरमा कलाकारहरु गीत छायांकन गरिरहेका छन् । मंगलबारदेखि बालाजुस्थित एनएफडीसी परिसरमा एउटा गीतको सुटिङ भइरहेको छ, जहाँ मोडलद्वय करिश्मा ढकाल र अञ्जली अधिकारीले अभिनय गरिरहेका छन् । काजिश श्रेष्ठको निर्देशन र नृत्य निर्देशनमा गीत छायांकन भइरहेको हो । शब्द, संगीत र स्वर सुमित्रा कोइरालाको रहेको गीतको बोल छ– खायो बरै कलेजी ।’

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले अपाच्य र अभद्र शैलीका गीत निर्माण नगर्न चेतावनी दिएपछि यसपटक कलाकार केही संयम देखिएका छन् । लोकगीत जानकारहरु यसपटक अश्लील शब्दावलीसहितका गीतमा कमी आउने बताउँछन् ।

