अभिनेता सविन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा स्यानिटरी प्याडको सुविधा दिने - Crazysaptahik.com

अभिनेता सविन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा स्यानिटरी प्याडको सुविधा दिने

अभिनेता सविन श्रेष्ठ फिल्मभन्दा अहिले युट्युब भिडियो बनाउन व्यस्त छन् । प्रेमिका तथा अभिनेत्री अनु शाहसँग मिलेर नयाँ–नयाँ भ्लग बनाउँदै उनी दर्शकसँग अन्तरक्रिया पनि गरिरहेका छन् । उनी अभिनित फिल्म ‘म’ साउन २० गतेदेखि प्रदर्शनको तयारीमा त छ, तर यसको बक्स अफिस भविष्यलाई लिएर अहिल्यै केही भन्न सकिंदैन ।

तर पनि फिल्मले आफ्नो करिअरलाई सघाउने आशा सविनले राखेका छन् । गत महिना निर्देशक सबिर श्रेष्ठसँग नयाँ फिल्ममा सहकार्य गर्ने उनले घोषणा गरे । उनी यो फिल्मको प्रि–प्रोडक्सनमा समेत व्यस्त छन् । तर यतिबेला सविनको नयाँ योजना चाहिं फिल्मभन्दा शौचालय र हाइजिनमा काम गर्नु हो ।

काठमाडौंका पाँच सार्वजनिक शौचालयमा महिनावारीमा निःशुल्क प्रयोग गर्न सकिने स्यानिटरी प्याडको बाकस राख्ने योजना उनले अघि सारेका छन् । राष्ट्रिय सभागृह अगाडि, भूगोल पार्क, गोंगबु बसपार्क, गौशाला र नयाँ बानेश्वर सार्वजनिक शौचालयमा यी सुविधा दिलाउने सविनको योजना छ ।

‘आपतकालीन समय तथा किनेर प्रयोग गर्न नसकिने अवस्थामा दिदीबहिनीहरुलाई एक दिन भए पनि सुविधा हुन सक्ने आशा गरेको छु,’ उनी लेख्छन्, ‘अब यसो गर्दै गर्दा सामाजिक काम देखाएर हिरो बन्न खोजेको भन्ने पनि आरोप पनि आउन सक्छ ।अब तपाईंको नि पालो हिरो बन्ने चाहे त्यो सहयोग सानो नै किन नहोस् ।’ सविनले यो कामका लागि काठमाडौं महानगरपालिकासँग सल्लाह र सुझाव लिएर अघि बढ्ने पनि उल्लेख गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.