
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण मंसिर ९ देखि १६ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च :विविधताको उत्सव’ नारासहित हुन लागेको महोत्सवमा भाग लिन इच्छुक नाटकको आवेदन आह्वान गरिएको छ । साउन १३ गतेसम्म आवेदन दिन भनिएको छ ।
महोत्सवमा नाटकसहित सांगीतिक प्रस्तुति समेत हुने फेस्टिभल संयोजक विजया कार्कीले जानकारी दिइन् । सन् २०१९ मा पहिलो संस्करण भएयता फेस्टिभल हुन सकेको थिएन ।कोरोनाभाइरस महामारीको कारण सन् २०२१ मा हुने भनिएको फेस्टिभल स्थगित भएको थियो ।
तर यसपटक दर्शकको भौतिक उपस्थितिमै फेस्टिभल हुन लागेको जनाइएको छ । कोरोनापछि पछिल्लो समय धमाधम नाटक मञ्चन हुन थालेका छन् भने नाटकघरमा दर्शकीय उपस्थिति पनि बाक्लिएको छ ।

