६ वर्षको बाँकी कैद भुक्तानीका लागि इरानी फिल्म निर्देशक कारागार चलान - Crazysaptahik.com

६ वर्षको बाँकी कैद भुक्तानीका लागि इरानी फिल्म निर्देशक कारागार चलान

अन्तर्राष्ट्रिय फिल्म निर्देशक जफर पनाहीलाई बाँकी कैद भुक्तानीका लागि कारागार चलाना गरिएको छ । इरानको एक अदालतले सन् २०१० मा ६ वर्षको जेल सजाय सुनाएको थियो । तर उनी दुई महिना जेलमा बसेपछि सर्तसहित रिहा भएका थिए । देश छाड्न पनि नपाउने र फिल्म पनि बनाउन नपाउने सर्तमा उनलाई छाडिएको थियो ।

इरानमा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका पनाहीलाई इरान सरकारले तारो बनाउँदै आएको छ । अदालतका प्रवक्ता मसुद सेतायसीले अलजजिरालाई बताएअनुसार जुलाई ११ मा पुनः पक्राउ परेका पनाहीले अब बाँकी समयको कैद भुक्तान गर्नुपर्नेछ ।आफू पक्राउ पर्नु एक दिनअघि समातिएका दुई फिल्म निर्मातालाई रिहा गर्नुपर्ने माग गरिरहेका उनी पक्राउ परेका हुन् ।

गत मे महिनामा सरकारविरुद्ध सामाजिक सञ्जालमार्फत आलोचना गरेका दुई फिल्ममेकर मोहम्मद रसुल्फ र मुस्तफा अल–अहमद समातिएका थिए । यी दुई निर्देशकले ‘पुट योर गन्स डाउन’ ह्यासट्याग प्रयोग गर्दै सरकारी भ्रष्टाचारको आलोचना गरेका थिए । पनाहीलाई मान्छे भेला गरेर उक्साएवापत पाँच वर्ष र सरकारविरुद्ध प्रपोगान्डा चलाएको अभियोगमा एक वर्ष गरी ६ वर्ष जेल सजाय तोकिएको छ ।

तर उनले पक्राउ परेका अन्य फिल्ममेकरबारे बोलेनन् । पनाहीले सन् २०१८ मा ‘देयर इज नो एभिल’बाट कान्स फिल्म फेस्टिभल र सन् २०१५ मा फिल्म ‘ट्याक्सी’बाट गोल्डेन बियर अवार्ड जितेका थिए ।मुलुक छाड्न र व्यावसायिक गतिविधि गर्न रोक लगाइए पनि उनले फिल्म निर्माणलाई भने निरन्तरता दिएका छन् ।

पनाहीको पक्राउको विरोधमा विश्वका चर्चित फिल्म फेस्टिभल बर्लिन, कान्स, भेनिस र लोकार्नोले आपत्ति व्यक्त गरेका छन् । गत साता फ्रान्सको विदेश मन्त्रालयले पनि इरानमा कलाकारको स्थिति नाजुक रहेको भन्दै विरोध व्यक्त गरिसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.