पपगायक धीरज राईको अभियानमा जोडिए ५० सेलिब्रिटी, राष्ट्रसंघमा पेन्टिङ बुझाइने - Crazysaptahik.com

पपगायक धीरज राईको अभियानमा जोडिए ५० सेलिब्रिटी, राष्ट्रसंघमा पेन्टिङ बुझाइने

पपगायक धीरज राई १२ वर्षदेखि ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाइरहेका छन् । ४० भन्दा बढी मुलुकमा पुगेर उनले बुद्ध नेपालमा जन्मिएको सन्देश पुयाइरहेका छन् ।विदेशी मुलुकका पाठ्यक्रममा पनि यो तथ्य प्रस्तुत गर्न उनले त्यहाँ पुगेर दबाब दिइरहेका छन् । राईको यो अभियानमा साथ दिने नेपाली सेलिब्रिटीको संख्या ५० पुगेको छ ।पछिल्लो पटक उनको यो अभियानमा अभिनेता दयाहाङ राईदेखि धरानका मेयर हर्क साम्पाङ पनि जोडिएका छन् ।

यसअघि कुलमान घिसिङ, महावीर पुनसहितका सेलिब्रिटी पनि जोडिइसकेका छन् । लुम्बिनी विकास कोषका सद्भावना दूत समेत रहेका पपगायक राईको अबको योजना भने सबै सेलिब्रिटीको हस्ताक्षरसहितको पेन्टिङलाई राष्ट्रसंघमा बुझाउनेछ । उनी चित्रकार किरण मानन्धरसहितका ५० जना पेन्टरले पोत्ने ३० फिट लामो बुद्ध नेपालमा जन्मिएको बारेको पेन्टिङलाई राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा पुगेर बुझाउने भएका छन् ।

यो पेन्टिङलाई वसन्तपुरमा प्रदर्शनको लागि समेत राखिने भएको छ । पेन्टिङसहितको निवेदन राष्ट्रसंघमा बुझाएर बुद्धबारेको भ्रम सच्याउन आग्रह गरिने धीरजले बताए । यसैबीच, आगामी दशैं र तिहार छेकोमा धीरज दुई नयाँ म्युजिक भिडियो रिलिज गर्दै संगीतमा पुनरागमन गर्दैछन् । यी दुई डान्सिङ ट्रयाकमा धीरज आफैंले नृत्य प्रस्तुत गर्दैछन् ।

टीभी रियालिटी शो डान्सिङ स्टार्स नेपालमा सिकेको नृत्यको सीपलाई यो म्युजिक भिडियोमा उपयोग गर्ने उनको तयारी छ । यसका लागि उनी एक महिनासम्म डान्स सिक्दैछन् र म्युजिक भिडियोमा कोरियोग्राफी पनि उनको आफ्नै हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.