
आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन् । अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जनाएका छन् ।
गएराति सार्वजनिक गरिएको ट्रेलरमा हिन्दूहरुका आराध्यादेव भगवान शिवजीलाई मजाक बनाइएको भन्दै विरोध भएको थियो । पपगायक सञ्जय श्रेष्ठले त उक्त एपिसोडलाई रोक लगाउन माग गरेका थिए । सामाजिक सञ्जालमा हिन्दूहरुको आस्थामाथि उक्त दृश्यले प्रहार गरेको भन्दै विरोध भएको थियो ।
अहिले युट्युबबाट उक्त दृश्य हटाइएको छ । कमेडी हब विवादमा तानिएको यो पहिलोपटक भने होइन, यसअघि शैक्षिक व्यवसायीलाई यमराजको रुपमा चित्रण गरिएको भन्दै शो विवादित समेत बनेको थियो । यो कार्यक्रमलाई मिडिया हबले निर्माण गरेको हो ।

