सुहानालाई लिएर ‘भगवत् गीता’ निर्देशन गर्दै झरना, बैशाख १ गते रिलिज हुने - Crazysaptahik.com

सुहानालाई लिएर ‘भगवत् गीता’ निर्देशन गर्दै झरना, बैशाख १ गते रिलिज हुने

झरना थापाको निर्देशन बन्ने फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार युट्युवबाट फिल्मबारे जानकारी दिइएको हो । फिल्म घोषणा भिडियोमा अभिनेत्री सुहाना थापा फिचर्ड छिन् । जनकपुरको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा प्रस्तुत छिन् ।

उनी मन्दिर भित्रदेखि उत्साहित भएर दौडँदै बाहिर निस्किएको र बाहिर निस्किएपछि उनी एकाएक भावुक हुँदै आँसु झारेको दृश्य देख्न सकिन्छ । उनको शीरबाट मयुरको प्वाँख भुइँमा खस्छ र सोहीअनुसार फिल्मको टाइटल कम्पोज गरिएको छ । पृष्ठभूमिमा मैथिली गीत ‘तोहरे भरोसे ब्रम्ह बाबा झिझिआ बनइलिअइ हो‘’ सुन्न सकिन्छ ।

फिल्म जनकपुर र जानकी मन्दिरको परिवेशमा बन्न लागेको अनुमान गर्न सकिन्छ । सार्वजनिक टिजरले फिल्मको मुख्य पात्र गीतको चरित्रलाई स्थापित गरेको छ । फिल्मको नायक भने सार्वजनिक गरिएको छैन । २०८० सालको बैशाख १ गते (सन् २०२३ को अप्रिल १४)मा रिलिज घोषणा समेत गरिएको छ ।

सुहाना थापाकै होमप्रोडक्सन सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको सह–निर्माता र अमेरिका वितरकको रुपमा अमृत राई, जंग राई र खेम गुरुङ छन् । संजय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, उत्तम न्यौपानेको ध्वनी डिजाइन रहेको छ ।

झरना र सुहाना दुबै राधाकृष्णका अनुयायी हुन् ।  सोहीकारण जन्माष्टमीमा फिल्मको औपचारिक घोषणा भएको हो । ‘ए मेरो हजुर ४’ पछि झरना र सुहानाले होमप्रोडक्सन प्रोजेक्टमा सहकार्य गर्न लागेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.