
चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको सोमबार निधन भएको छ । लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो ।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए । स्याङ्जा घर भएका उनले ५० को दशकमा कोरस डान्सरबाट करिअर थालेका थिए ।डीसीले राजु परियार, बीमाकुमारी दुराजस्ता चर्चित कलाकारका गीतमा समेत मोडलिङ गरेका छन् ।
‘बेनीको बजार’ उनले अभिनय गरेको चर्चित गीत हो । उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्म समेत निर्देशन गरेका थिए । डीसीको निधनमा कलाकारहरुले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन् ।

