फिल्म ‘धड्कन’ निर्माणको १८ वर्षपछि निर्माता तथा निर्देशक नरेश पौड्याल दोस्रो श्रृंखला लिएर पुनरागमन गर्दैछन् । मंगलबार फिल्मको औपचारिक घोषणा गर्दै उनले अभिनेत्री सञ्चिता लुइँटेल फिल्ममा जोडिएको जानकारी दिए । लभ–क्राइम जनरामा निर्माण हुने फिल्मलाई पौड्यालले नै निर्माण तथा निर्देशन गर्दैछन् ।
अघिल्लो भागका कुनै कलाकार नदोहोरिने र प्रमुख चारजना कलाकारलाई डेब्यु गराउने उनले जानकारी दिए । सञ्चितासहित पौड्याल आफैं पनि प्रमुख भूमिकामा हुनेछन् । ‘बाउआमाको रोलमा पुराना कलाकार हुनेछन् भने नयाँ कलाकारलाई डेब्यु गराउने तयारी छ,’ फिल्मबारे पौड्यालले भने । फिल्मले केटाकेटीको कथालाई नयाँ सेटअपमा भन्ने उनले बताए ।
कथाकार समेत रहेका पौड्यालले भने, ‘सुपरडुपर हिट भएको फिल्मको सिक्वेल बनाउँदा आर्थिक रुपमा पनि राम्रै होला भनेर वितरक र साथीभाइको सल्लाहमा सिक्वेल बनाउन लागेको हुँ ।’ डेढ करोड बजेट हुने फिल्मको छायांकन माघ ३० गतेदेखि नेपालगञ्जमा हुने तय भएको छ । मौनता श्रेष्ठको पटकथा हुने फिल्म किशोरकिशोरीको प्रेमकथामा आधारित हुनेछ ।
नरेशले २०६१ सालमा ‘धड्कन’ निर्माण गरेका थिए । उक्त फिल्ममा निखिल उप्रेती, रेखा थापा, रमित ढुंगाना र अरुणिमा लम्साल प्रमुख भूमिकामा थिए । उनको पछिल्लो फिल्म चाहिं २०६५ मा निर्माण भएको ‘दीपशिखा’ हो ।‘धड्कन २’को संगीतकारमा सुरेश अधिकारी तय भइसकेका छन् भने फिल्ममा तीनवटा गीत हुनेछन् ।