पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन - Crazysaptahik.com

पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् ।फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् ।

यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । तर, बलात्कारको मुद्दामा पलले सफाइ पाएका थिए । पीडित किशोरी लेख्छिन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन ।

क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय पनि छैन । म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु । यहाँहरुको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगीतिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’ साथै, पीडित किशोरीले सामाजिक संजालमा आफूविरुद्ध बनेका लज्जास्पद तस्वीर र गालीगलौजले गर्दा मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी छन् ।

‘कृपया आफ्नै घरको घटनाजस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’ उनले लेखेकी छन् । ती किशोरीले शाहविरुद्ध दायर गरेको अर्को उजुरीमाथि आगामी चैत २ गते तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.