नेपाल र चीनका निर्माताको संयुक्त लगानीमा बन्ने फिल्म ‘भृकुटी’को बजेट २० करोड - Crazysaptahik.com

नेपाल र चीनका निर्माताको संयुक्त लगानीमा बन्ने फिल्म ‘भृकुटी’को बजेट २० करोड

नेपाल र चीनका निर्माताको संयुक्त लगानीमा निर्माण हुने फिल्म ‘भृकुटी : द ग्रीन स्टार’को बजेट २० करोड रुपैयाँ हुने भएको छ । तीन चिनियाँ कम्पनीले निर्माणमा सहकार्य गर्दैछन् । भदौ ११ गते बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ को क्रममा नेपाली पक्षको तर्फबाट केशवबहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युबीच लेटर अफ इन्टेन्टमा हस्ताक्षर भएको थियो ।

जसअनुसार चिनियाँ फिल्म ‘डियर स्ट्रेन्जर’ र ‘लेट्स गो डान्सिङ इन नेपाल’को छायांकन नेपालमै हुने भएको छ । नेपालकी राष्ट्रिय विभूति समेत रहेकी भृकुटीको जीवनयात्रामा आधारित फिल्मको निर्देशन चाहिं सुवर्ण थापाले गर्दैछन् । तीन वर्षमा प्रिन्सिपल फोटोग्राफी सुरु हुने फिल्मको प्रि–प्रोडक्सन अहिले धमाधम भइरहेको छ ।

कम्तीमा तीन चिनियाँ कम्पनी र नेपालको मण्डला फिल्मले निर्माणमा सहकार्य गर्ने र अन्य चिनियाँ कम्पनीहरु को–प्रोडक्सनमा रहनेछन् ।नेपालको काठमाडौं, पनौती, खोपासी, चीनको तिब्बतदेखि बेइजिङसम्म फिल्म सुटिङको योजना छ । नौ वर्षको उमेरमा तिब्बत पुगेकी भृकुटीको यात्रा र त्यहाँ पुगेर हुने उनको बिहेसम्मको कथा फिल्ममा समेटिने भएको छ । तेजेन्द्र शेरचनसँग मिलेर थापाले फिल्मको रिचर्स गरेका छन् ।

‘यो सातौं शताब्दीको कथा हो । त्यतिबेलाको ल्यान्डस्केपदेखि कस्ट्युमलाई चित्रण गर्ने चुनौती छ,’ थापाले  भने । पहिलोपटक नेपाली र चिनियाँ निर्माताबीच संयुक्त लगानीमा फिल्मको कार्य सुरु हुन लागेको हो ।

सम्बन्धित खवर