
अभिनेत्री सुहाना थापाले बाल दिवसको अवसरमा बुधबार ३५ जना आश्रित बालबालिकालाई फिल्म ‘ऐना झ्यालको पुतली’ हेराएकी छन् । ती विपन्न बालबालिकाले अपरान्ह कमलपोखरीस्थित बिग मुभिजमा पुगेर सुहानासँगै यतिबेलाको चर्चित फिल्म हेरेर रमाए । काठमाडौंको एक आश्रमका ती बालबालिकालाई सुहानाले पहिलेदेखि नै हेरचाह गर्नेदेखि मनोरञ्जन दिलाउने कार्य गर्दै आएकी छन् ।
उनले यी केटाकेटीलाई आफू अभिनित फिल्म ‘ए मेरो हजुर ४’ पनि देखाएकी थिइन् । परोपकार कार्यमा रुचि राख्ने सुहाना स्वयंले पनि फिल्म हेरेर ‘इन्जोय’ गरेकी छन् । गत शुक्रबार रिलिज भएको सुजित बिडारी निर्देशित फिल्म बाल कथावस्तुमा आधारित छ ।
बालबालिकाको पढाइ र परिवारको कथा भन्ने फिल्मले अहिले राम्रो समीक्षा बटुलेको छ । सुहाना चाहिं होमप्रोडक्सन फिल्म ‘भगवत् गीता’को तयारीमा जुटेकी छन् । झरना थापाले निर्देशन गर्ने यो फिल्म माघ अन्त्यदेखि छायांकनमा जाने तयारीमा छ ।

