
सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन प्रसारण सुरु भइसकेको छ । शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो र दोस्रो एपिसोडले चर्चा बटुलेको छ । अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ र कोचले आफ्नो टिम निर्माण गर्न थालेका छन् । खासमा भ्वाइसको संरचना भनेकै प्रतियोगीभन्दा कोचबीचको प्रतिस्पर्धा हो, जुन कुराको महसुस पहिलो एपिसोडमा प्रतिस्पर्धीलाई आफूतिर तान्न कोचले गरेको नोकझोंकमा देखियो ।
अहिलेसम्म कोच राजेशपायल राईको टिममा चार जना, कोच प्रमोद खरेल र प्रविशा अधिकारीको टिममा समान तीन÷तीनजना र कोच राजु लामाको टिममा दुईजना प्रतिस्पर्धी प्रवेश गरिसकेका छन् । टिम राजेशमा पाँचथरकी प्रीतिका बेघा, बनेपाका चन्द्रबहादुर कार्की, बेलटारका सुमन सेञ्चुरी र झापाका भूपेन्द्र रणपहेंली छन् । अघिल्लो सिजनका विजेता समेत रहेका टिम प्रमोदमा मोरङका प्रतीक खाती, अछामका आशिष महर र ताप्लेजुङका पदम राई छन् ।
टिम प्रविशामा सुर्खेतकी सन्ध्या बुढा, कीर्तिपुरका प्रिजोल नेपाली र धादिङकी वर्षा इटानी छन् । टिम राजुमा भुटानका रियान गिरी र धादिङका सविन लामा छन् । काउली बुढी नामले चर्चित सन्ध्या बुढा यसअघि नै टेलिभिजन पर्सनालिटी पनि भइसकेकी छिन् ।
ताप्लेजुङका पदम राई ताप्लेजुङ आइडल समेत हुन् र उनी पूर्वी नेपालमा चर्चित छन् भने युट्युबमा पनि उनका हिट गीत छन् । रियान भुटानी तन्नेरीमाझ चर्चित नाम हो ।आगामी शुक्रबार र शनिबार तेस्रो र चौथो एपिसोड प्रसारण हुनेछन् र थप नयाँ प्रतिस्पर्धीले मनपर्ने कोचलाई रोज्नेछन् ।

