नेपाल–अंग्रेज युद्धबारेको फिल्म ‘नालापानी’ हेरेपछि सेलिब्रिटी के भन्छन् ? - Crazysaptahik.com

नेपाल–अंग्रेज युद्धबारेको फिल्म ‘नालापानी’ हेरेपछि सेलिब्रिटी के भन्छन् ?

कात्तिक ४ गते रिलिज हुने फिल्म ‘नालापानी’को विशेष प्रदर्शन गरिएको छ । फिल्म निर्माता, निर्देशक, गायक लगायतले फिल्म हेरेर प्रतिक्रिया दिए । फिल्ममा विशेष भूमिकामा अभिनय गरेका सन्तोष पन्तले देशलाई कसरी माया गर्ने भन्ने सन्देश फिल्मले दिने बताए । ‘हाम्रो इतिहासको कथा हो नालापानी । हाम्रो इतिहास बोकेको फिल्म भएकाले एकपटक हेर्नैपर्छ । यसले नेपालीलाई जगाउँछ,’ उनले भने ।

निर्माता तथा निर्देशक अशोक शर्माले ऐतिहासिक पृष्ठभूमिमा यसरी फिल्म बनाउनु भनेको चानचुने कुरा नभएको बताए । सीमित साधन स्रोतमा पनि आफ्नो देश बचाउनका लागि हाम्रा पूर्खाले कसरी युद्ध लडेका थिए भन्ने सन्देश फिल्मले दिएको भन्दै उनले दर्शकहरुलाई एकपटक फिल्म हेर्न आग्रह पनि गरे ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशको भूगोल जोगाउनका लागि हाम्रा पूर्खाले कसरी लडेका थिए भन्ने कुरा फिल्मले देखाएकोमा खुसी व्यक्त गरे ।गायक राजेशपायल राईले हाम्रा पूर्खाहरु कति बहादुरी थिए भन्ने कुरा फिल्मले देखाएको र आगामी पुस्ताका लागि फिल्म एउटा शिक्षा बन्ने विश्वास व्यक्त गरे । फिल्म हेर्दा माटो र देशप्रतिको माया–सम्मान पाइने उनले बताए ।

हिमालयन टाइगरको रुपमा चिनिने पूर्व नेपाल आर्मी तथा नेपाली रेस्लर खेलाडी भरतबहादुर विसुरालले पनि फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिए । ‘फिल्म एकदमै राम्रो छ । म पनि आर्मीको मान्छे । ११ वर्ष सेवा गरें, लडाईं पनि लडें । त्यसबेला महिला पुरुषमा राष्ट्रप्रति कति प्रेम थियो भन्ने कुरा फिल्ममा देखाएको छ । अहिलेका मान्छेलाई त्यो शिक्षा हो,’ उनले भने ।

बलभद्र कुँवरले नालापानीमा लडेको युद्धमा फिल्म आधारित छ । फिल्मको विशेष शोमा बलभद्र कुँवरको पुस्ता पनि पुगेका थिए । बलभद्र कुँवरको पाँचौं पुस्ता तथा ‘नालापानीका नायक वीर बलभद्र’का लेखक रामराजा कुँवरले फिल्म समग्र नेपालीका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे । फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.