अस्करका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस - Crazysaptahik.com

अस्करका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं सँस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्म मध्येबाट ‘ऐना झ्यालको पुतली’ लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’ लाई सिफारिस गर्ने निर्णय गरेको हो । यो सालको अस्कर अवार्ड मार्च १२ का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा आयोजना हुँदैछ ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईँ सदस्य रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.