ओस्कार इफेक्ट : ‘ऐना झ्यालको पुतली’को शो संख्या र अकुपेन्सी बढ्यो - Crazysaptahik.com

ओस्कार इफेक्ट : ‘ऐना झ्यालको पुतली’को शो संख्या र अकुपेन्सी बढ्यो

नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएसँगै फिल्म ऐना झ्यालको पुतलीले बक्स अफिसमा राम्रो कमाइ गर्ने संकेत देखिएको छ । मल्टिप्लेक्सले शोमा वृद्धि गरेका छन् । पहिलो साता सुस्त देखिएको फिल्मको अकुपेन्सी बलियो वर्ड अफ माउथको कारण दोस्रो सातामा केही बढेको छ ।

‘ओस्कार इफेक्ट’ले अकुपेन्सी र शोमा वृद्धि भएको देख्न सकिन्छ । नेपालस्थित ओस्कार छनोट कमिटीले सोमबार फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधामा पठाउने निर्णय गरेको थियो । उक्त निर्णय भएपछि फिल्ममा दर्शक बढेको बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले दिए ।

बिग मुभिजले एक शो थपेको छ । क्यूएफएक्सले दुई शोमा बढाएको छ भने आईएनआईले पनि शो वृद्धिको तयारी गरेको छ । ‘हामीले एक शो बढाएका छौं र दर्शकको अकुपेन्सी पनि बढेको छ,’ शर्माले अनलाइखबरसँग भने, ‘ओस्कार इफेक्टको प्रभाव आगामी दिनमा देखिनेछ ।’

क्यूएफएक्समा पनि अकुपेन्सीमा वृद्धि भएको देखिन्छ भने आईएनआईले पनि फिल्मबारे सोधपुछ गर्ने दर्शकको संख्या बढेको जनाएको छ । फिल्मको रिलिजको समय र ओस्कारमा पठाउने समय मिल्दा फिल्मको व्यापारमा फाइदा भएको देख्न सकिन्छ ।

ओस्कारमा सिफारिस भएपछि सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय मिडियामा चर्चा हुने स्वभाविक हो । विगतमा नेपालबाट ओस्कारमा सिफारिस भएका फिल्महरु पुनः प्रदर्शन गरिएका उदाहरण छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.