भोट माग्दै हरिवंश निवासमा कांग्रेस उम्मेदवार पौडेल - Crazysaptahik.com

भोट माग्दै हरिवंश निवासमा कांग्रेस उम्मेदवार पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र अभिनेता हरिवंश आचार्यबीच भेटघाट भएको छ । काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका प्रदीपले हरिवंशसँग भेटेका हुन् ।

घरदैलो अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–४ स्थित आचार्यको निवासमा भेटघाट भएको पौडेलको सचिवालयले पुष्टि गरेको छ । मत माग्दै पुगेको पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए।

‘बूढानीलकण्ठ घरमै उहाँहरुका बीच भेट भएको हो । स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो । तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो ।’

ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ (आचार्य)ले सार्वजनिक रुपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने ।

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन् । पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग जम्का भेट भएको थियो ।

यसअघि फेसबुकमार्फत स्टाटस लेख्दै हरिवंशले आफूलाई प्रचारको लागि आग्रह नगरिदिनको लागि उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.