द भ्वाइस अफ अमेरिकाको नकआउट विजेता बनिन् नेपाली मूलकी किशोरी परिजिता - Crazysaptahik.com

द भ्वाइस अफ अमेरिकाको नकआउट विजेता बनिन् नेपाली मूलकी किशोरी परिजिता

रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नकआउट प्रतिस्पर्धा सुरु भएको छ । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाको सहभागिताले द भ्वाइसमा रौनकता मात्र थपेको छैन, उनलाई लिएर नेपालसहित डायस्पोरामा आकर्षण र चासो छ ।

आफ्नो सुमधुर गायकीले ब्लाइन्ड अडिसन र ब्याटल राउन्डमा जजलाई मख्ख पारेकी परिजिताको रोकिने छाँट छैन । नेपाली समयानुसार  (मंगलबार)देखि सुरु भएको नकआउट चरणको सुरुवातमै परिजिताले जित हासिल गरेकी छन् ।

कोच जोन लिजेन्डको तर्फबाट मंगलबार बिहान भएको नकआउट प्रतिस्पर्धामा परिजितासहित भालारी हार्डिङ्स र पिटन एल्डिरिजबीच कम्पिटिसन भएको थियो । तर जोन लिजेन्डले परिजितालाई विजेता घोषणा गरे ।

परिजिताले नकआउटको यो प्रतिस्पर्धामा एट्टा जेम्सको चर्चित गीत ‘आई वुड  गो ब्लाइन्ड’लाई आकर्षक शैलीमा गाएर कोचलाई पुनः मख्ख पारेकी थिइन् । त्यति मात्र हैन, परिजिताले नकआउट प्रिमियरलाई आफूतिर आकर्षित पारिन् ।

नेपाली परम्परागत कुर्था पहिरन लगाएर मञ्चमा उक्लिएकी परिजिताले उक्त गीत छनोट गरेर रिहर्सलमा कोच लिजेन्डलाई प्रभावित तुल्याएकी थिइन् । परिजिता नकआउट विजेता भएपछि उनले गाएको भिडियोलाई ट्वीट गर्दै कोच लिजेन्डले अविश्वसनीय भन्दै प्रशंसा गरेका छन् ।

‘१७ वर्ष । के तपाईंहरु सबैले यो गीत सुन्नुभएको थियो ? वास्तवमै अविश्वसनीय परिजिता,’ लिजेन्ड लेख्छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.