
उच्च रक्तचाप र हातखुट्टा चलाउन असहज भएपछि गायक कुबेर राई अस्पताल भर्ना भएका छन् । सोमबार बेलुका उनलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ ।
उनको बायाँ हात र खुट्टामा पक्षघातको संकेत देखिएको र चलाउन असहज भएको जनाइएको छ । ‘उहाँको अवस्था स्थिर छ । मानसिक रुपमा उहाँ स्वस्थ हुनुहुन्छ, तर देब्रे हातखुट्टा चलाउन मुस्किल छ,’ उनका नातेदार राजु सुब्बाले भने, ‘आत्तिनुपर्ने अवस्था छैन ।’
अचेतजस्तै अवस्था भएपछि गायक राईलाई अस्पताल लगिएको सुब्बाले जानकारी दिए ।इलामको एउटा गाउँमा खेती किसानी गर्दै बसिरहेका गायक राईको मूल कर्म भनेको संगीत नै हो । उनी लामो समयदेखि अनवरत रुपमा संगीत साधना गरिरहेका छन् ।
‘गायक बन्न’ कुनैबेला उनी काठमाडौं आएका थिए । त्यसबेला उनको उमेर १६ वर्षको थियो । त्यसबेला रेडियो नेपालमा स्वर परीक्षा पास गरेर उनले औपचारिक संगीत यात्रा सुरु गरे । गायक राईले ‘प्रतिभाको खोजी’ नामक देशव्यापी आधुनिक गायक प्रतियोगितामा भाग लिएर सानै उमेरमा आफूलाई चिनाए ।
यो २०३९ सालको कुरा हो । त्यसपछि २०४० सालमा रत्न रेकर्डिङले आयोजना गरेको ‘अधिराज्यव्यापी युवा गायन प्रतियोगिता’मा भाग लिएर उनी प्रथम भए । २०५१ सालमा रेडियो नेपालले गरेको आधुनिक गीत प्रतियोगितामा पनि उनले प्रथम स्थान हासिल गरे ।
राई लामो समय काठमाडौंमा टिक्न सकेनन् र गाउँ फर्किए । खेतीपातीमा लागे । यद्यपि खेतीपातीसँगै आफ्नो मूल कर्मबाट भने विचलित भएनन् । उनले ‘अन्तराल’, ‘निरन्तर’, ‘अविरल’, ‘आवृत्ति’ जस्ता गीति एल्बम बजारमा ल्याए । ‘मायाले मूलबाटो भुलेछ’, ‘टाढा भए के भो मायालु’ लगायत गीत उनका निकै लोकप्रिय छन् ।
आप्रवासी नेपालीमाझ उत्तिकै प्रिय उनी गाउँमै रहँदा देश विदेशको संगीत कार्यक्रममा पनि निरन्तरजसो सहभागी भइरहे । कहिले हङकङ त कहिले बेलायत, कहिले अष्ट्रेलिया त कहिले कोरिया ।

