हलमा लागे ‘डेसान’ र ‘सोल अफ द कमाण्डो’ - Crazysaptahik.com

हलमा लागे ‘डेसान’ र ‘सोल अफ द कमाण्डो’

विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलमा दुई नेपाली फिल्म रिलिज भएका छन् । भोलराज सापकोटा र नम्रता सापकोटाको अभिनय रहेको ‘डेसान : द एपिडेमिक’लाई ड्रामा जनरामा राखिएको छ ।

कमल एक्चै मगर निर्देशित फिल्मले विवाहेत्तर सम्बन्धले ल्याउने पारिवारिक उतारचढावको कथा भन्छ । डेब्यु कलाकार निशान चौहानको प्रमुख भूमिका रहेको फिल्ममा पुनम थापाको समेत अभिनय छ ।

पारिवारिक कथावस्तु, दाम्पत्य जीवनमा हुने असमझदारी र सामाजिक न्यायको कथा फिल्मले पेस गर्छ । ‘डेसान : द एपिडेमिक’को लम्बाइ २ घण्टा ९ मिनेट छ । हलमा शुक्रबारदेखि नै अर्को नेपाली फिल्म ‘सोल अफ द कमाण्डो’ प्रदर्शनमा आएको छ ।

युवराज राई निर्देशित फिल्ममा राजकुमार राई, कमला खापुङ, मिलन राई र रवि थापाको अभिनय छ । दुई घण्टा लम्बाइको ‘सोल अफ द कमाण्डो’ एक्सन फिल्म रुचाउने दर्शकलाई मन पर्नसक्छ ।

दक्षिण एसियाली खेलमा स्वर्ण पदक जितेका राजकुमार राई दशकपछि यो फिल्ममार्फत अभिनयमा फर्किएका छन् । रिस्ता बस्नेत अभिनित ‘पासो’ र सलोन बस्नेत अभिनित ‘मिलन’ रिलिजको एक सातामै हलबाट बाहिरिएका छन् ।

दर्शकको उपस्थिति नहुँदा यी दुई फिल्म एक साता पनि टिक्न सकेनन् । यतिबेला हलमा दृश्यम २, महापुरुष, उचाइ, भेडिया र हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर २’ प्रदर्शन भइरहे पनि दर्शकको उपस्थिति न्यून छ ।

यतिबेला फिल्म हलहरुको ध्यान पुस १ गते रिलिज हुन गइरहेको बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’तिर सोझिएको छ । फिल्म हलले यो सातादेखि नेपालमा यो फिल्मको अग्रिम टिकट बिक्री खुला गर्ने तयारी गरेका छन् ।

सम्बन्धित खवर