साम्राज्ञीलक्षित सन्तोष सेनको कटाक्ष : फिल्मलाई जन्माएर अलपत्र छाड्ने प्रवृत्ति - Crazysaptahik.com

साम्राज्ञीलक्षित सन्तोष सेनको कटाक्ष : फिल्मलाई जन्माएर अलपत्र छाड्ने प्रवृत्ति

अभिनेत्री साम्राज्ञी शाह प्रत्येक पटक फिल्म रिलिजसँगै विवादको केन्द्रमा हुने गर्छिन् । हलमा यतिबेला उनी अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ चलिरहेको छ । यो फिल्मको रिलिजअघिको प्रचारप्रसारमा साम्राज्ञीले खुबै समय दिएकी थिइन् ।

तर रिलिजपछि फिल्मलाई साथ नदिएको भन्दै साम्राज्ञीको आलोचना भइरहेको छ । ‘प्रेमगीत ३’ फेम्ड निर्देशक सन्तोष सेनले साम्राज्ञीप्रति कटाक्ष गर्दै फूर्ति नलगाउन सुझाएका छन् ।

उनले साम्राज्ञीको नाम नलिइकनै फिल्मलाई जन्माएर अलपत्र पार्ने काम केन्द्रमा रहेका कलाकारबाट भएको उल्लेख गर्दै यस्तै प्रवृत्तिले नेपाली फिल्म क्षेत्र वामे सरेको तर हिंड्न नसकेको उल्लेख गरेका छन् ।

सेन लेख्छन्, ‘एउटा चलचित्र हलसम्म आइपुग्दा ४००–५०० जना मानिसको दिमागसँगै मेहनत लाग्ने गर्छ । करोडौं पैसादेखि, वर्षौंको समय लगानी भएको हुन्छ । अन्तिम साससम्म आश हुन्छ भन्छन् ।

तर यहाँ जन्माएर अलपत्र छाडेर जाने कलाकार छन्, त्यो पनि मुख्य केन्द्रमा रहेका कलाकार । हाम्रो चलचित्र उद्योग बामे मात्र सर्दैछ, हिंड्न सकेको छैन । कसैले फूर्ति नलगाए पनि हुन्छ । लगानी फिर्ता आउने ०.५ प्रतिशत ग्यारेन्टी नहुँदा यत्रो चुनौती मोलेको अवस्थामा कम्तीमा प्रदर्शनको दुई–तीन दिन त साथ दिनुपर्छ, चिन्तित हुनुपर्छ ।

आत्मरतिमा रमाउन भन्दा पनि सिंगो क्षेत्रलाई अगाडि लिएर जानुपर्छ भन्ने सोच पालौं ।’ ‘तिम्रो मेरो साथ’को पब्लिसिटी छाडेर अर्को फिल्म ‘ह्यारीकी प्यारी’ प्रचारमा लागेको भन्दै साम्राज्ञीलाई कतिपय कोणबाट अव्यावसायिक भएको आरोप पनि लागेको छ ।

रमेश एमके पौडेल निर्देशित उक्त फिल्म रिलिज भएपछिको हल दौडाहा र विशेष शोमा साम्राज्ञी उपस्थित भइनन् । उनी यतिबेला ‘ह्यारीकी प्यारी’मा जुटेकी छन् । हालै आयोजित ह्यारीकी प्यारीको पत्रकार सम्मेलनमा बोल्दै साम्राज्ञीले आफ्ना लागि दुवै फिल्म उत्तिकै प्रिय भएको र जुधेको कारण आफूलाई दुःख लागेको बताएकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.