मिस नेपाल प्रियंकाको पहलमा चितवनको दुर्गम अपरदाङ गढीमा बल्यो बिजुली - Crazysaptahik.com

मिस नेपाल प्रियंकाको पहलमा चितवनको दुर्गम अपरदाङ गढीमा बल्यो बिजुली

मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएको छ ।

मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीको पहलमा गाउँमा बिजुली पुगेपछि गाउँलेहरु औधी खुसी छन् । नेपाल विद्युत प्राधिकरणसँग मिलेर प्रियंकाले उक्त गाउँमा बिजुली पुयाएकी हुन् ।

यसै साता विद्युत परीक्षण प्रसारण सफल भएको र आगामी साता उद्घाटन कार्यक्रम राखिएको छ, जहाँ सहभागी हुन प्रियंका जाँदैछिन् । विपन्न चेपाङ र गुरुङ समुदायको बस्ती रहेको गाउँमा बिजुली पुगेपछि ५८ घरधुरीका ३५८ जना लाभान्वित हुनेछन् ।

महिला र बालबालिकाको जीवनस्तर सुधार्ने परियोजना सम्पन्न गर्नुपर्ने भएपछि प्रियंकाले बिजुली नपुगेको उक्त गाउँलाई रोजेकी थिइन् । ‘अन्ततः चार महिनापछि बत्ती बलेको छ । हामी औधी खुसी छौं,’ प्रियंकाले  हर्ष बाँडिन्,

‘अब हामी आय आर्जनको कामतर्फ केन्द्रित हुनेछौं ।’ स्थानीय महिलालाई मौरी पालन र आतिथ्यतासम्बन्धी सीपमूलक तालिम दिइने तयारी छ । यो सीप सिकेपछि गाउँलेले मनग्य आम्दानी गर्न सक्ने र बिजुलीको बिल तिर्न सक्ने आशा लिइएको छ ।

मिस वर्ल्डले ब्युटी विथ पर्पस परियोजना महिला र बालबालिकालाई लक्षित गर्दै आयोजना गरिरहेको छ । नेपाल यसअघि दुईपटक यो विधामा विजेता भइसकेकाले स्वभाविक रुपमा यसपटक पनि दाबेदार हुनेछ ।

अघिल्ला मिस नेपालहरुले पनि यो प्रोजेक्टअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, बालबालिका र झोलुंगे पुलको क्षेत्रमा काम गरिसकेका छन् । ब्युटी विथ पर्पस विधा जित्न सके मिस वर्ल्डको सेमिफाइनलमा प्रवेश गर्न पाइने अवसरसमेत छ । यस वर्षको मिस वर्ल्ड आगामी मे महिनाको अन्त्यमा हुने तयारीमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.